अखाद्य वस्तु भेटिएपछि बागमती स्विट्सको उत्पादन र बिक्रीमा रोक
आकस्मिक अनुगमनका क्रममा उक्त मिठाई उद्योगको सरसफाइ र गुणस्तरमा गम्भीर समस्याहरू फेला परेका छन् । विभागका अनुसार अनुगमनका क्रममा ड्राइफ्रुट्स प्याकिङका लागि तयारी अवस्थामा राखिएको बदाममा कीरा परेको भेटिएको छ ।
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले त्रिपुरेश्वरमा रहेको बागमती स्वीट्स प्राइभेट लिमिटेडको उत्पादन र उत्पादित मिठाईको बिक्री बितरणमा रोक लगाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र काठमाडौँ जिल्ला प्रशासन कार्यालयको संयुक्त अनुगमनका क्रममा सोमबार सरसफाइ तथा गुणस्तरसम्बन्धी कमजोरी भेटिएपछि कानुन अनुसार विभागले उत्पादन रोक्का गरी कारबाही अघि बढाएको हो । आकस्मिक अनुगमनका क्रममा उक्त मिठाई उद्योगको सरसफाइ र गुणस्तरमा गम्भीर समस्याहरू फेला परेका छन् । विभागका अनुसार अनुगमनका क्रममा ड्राइफ्रुट्स प्याकिङका लागि तयारी अवस्थामा राखिएको बदाममा कीरा परेको भेटिएको छ । टोलीले कीरा लागेको करिब ५ किलो बदाम तत्काल जफत गरी नष्ट गरेको छ । खाद्य पदार्थ उत्पादन गर्ने कारखानाको सरसफाइ अत्यन्तै न्यून र असन्तोषजनक पाइएको छ । त्यसैगरी, उद्योगमा कीट नियन्त्रणको व्यवस्थापन प्रभावकारी नभएको पाइएको छ ।
विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम बागमती स्विट्सको कारखानाबाट हुने उत्पादन र बिक्री वितरणलाई अर्को आदेश नभएसम्मका लागि पूर्ण रूपमा रोक्का गर्ने आदेश दिएको छ । थप अनुसन्धानका लागि टोलीले कीरा परेको बदाम र ड्राइफ्रुट्स मिक्सको नमुना संकलन गरी प्रयोगशाला पठाएको छ । विभागकी प्रवक्ता डा। बाल कुमारी शर्माका अनुसार उद्योगलाई उल्लेखित कैफियतहरू सुधार गरी सोको प्रमाणसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।