आयल निगम भन्छ- मुल्य समायोजनपछि पनि पाक्षिक रुपमा ७ अर्ब ८१ करोड घाटा

निगमले प्रेस विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय बजारको मूल्यअनुसार समायोजन गर्दै आएको स्पष्ट पारेको छ।

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यबारे सामाजिक सञ्जालमा फैलिएका भ्रामक सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । निगमले प्रेस विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय बजारको मूल्यअनुसार समायोजन गर्दै आएको स्पष्ट पारेको छ ।

निगमका अनुसार मार्च ३१ मा इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलको प्रति लिटर २२१.३२ , डिजेलको २९४.९९, मट्टितेलको २४३.७० र हवाई इन्धनको आन्तरिक तर्फ प्रतिलिटर २५७.८२ र एलपी ग्यासको प्रति सिलिन्डर २३४१.२५ लागत रहेको छ । 

निगमले पछिल्लो पटक मुल्य समायोजन गर्दा पेट्रोलमा प्रति लिटर २. ३२ डिजेलमा ८७.९९ र मट्टितेलमा ३६.७० घाटा रहेको छ । त्यस्तै एलपी ग्यासमा प्रति सिलिण्डर ३३१.२५ घाटा रहेको निगमले जनाएको छ । निगमले यस अनुसार १५ दिन (पाक्षिक) मा ७ अर्ब ८१ करोड ६१ लाख घाटा हुने अवस्था रहेको जानकारी दिएको छ ।

निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य घटे पनि ढुवानी लागत, कर तथा विनिमय दरका कारण उपभोक्ता मूल्यमा तुरुन्तै समान अनुपातमा कमी गर्न कठिन हुने गरेको छ ।

आपूर्ति व्यवस्थापनलाई सहज बनाउन विभिन्न वैकल्पिक उपाय अपनाइएको जनाउँदै निगमले चाडपर्व नजिकिँदै गर्दा आपूर्तिमा कुनै समस्या नआउने दाबी गरेको छ । साथै अन्तर्राष्ट्रिय बजारअनुसार आगामी दिनमा मूल्य समायोजन गरिने पनि जनाएको छ ।