वर्षौंदेखि भाडा नतिर्ने भृकुटीमण्डपको २० सटलमा समाजकल्याणले लगायो ताला
विभिन्न २० संघसंस्थाले प्रयोग गरिरहेको स्थानको भाडा नबुझाउँदा कुल ७ करोड ७९ लाख ८१ हजार ३४ रुपैयाँ बक्यौता पुगेपछि सोमबार समाजकल्याण परिषद्का कर्मचारीले सुरक्षाकर्मीको सहयोगमा ताला लगाएका हुन् ।
काठमाडौं । समाज कल्याण परिषदअन्तगर्त रहेको भृकुटीमण्डपमा भाडामा रहेर वर्षौ भाडा नतिर्ने २० वटा सटलमा तालाबन्दी गरिएको छ । वर्षौंसम्म भाडा नतिर्ने व्यक्तिको पसल र संस्थाको कार्यालयमा ताला लगाइएको हो । विभिन्न २० संघसंस्थाले प्रयोग गरिरहेको स्थानको भाडा नबुझाउँदा कुल ७ करोड ७९ लाख ८१ हजार ३४ रुपैयाँ बक्यौता पुगेपछि सोमबार समाजकल्याण परिषद्का कर्मचारीले सुरक्षाकर्मीको सहयोगमा ताला लगाएका हुन् ।
सबैभन्दा धेरै तिर्न बाँकी रहेको संस्था काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय समाज रहेको छ । उक्त संस्थाले स्टल नम्बर ६८ का लागि १ करोड ७६ लाख ७० हजार २८१ रुपैयाँ र स्टल नम्बर ३४ का लागि १ करोड १३ लाख ५३ हजार ९५ रुपैयाँ तिर्न बाँकी रहेको छ । त्यसैगरी राष्ट्रिय अपांग महासंघले १ करोड १६ लाख ३२ हजार २७ रुपैयाँ भाडा नतिरेको परिषद्ले जनाएको छ । बालबालिकाका लागि काम गर्ने गैरसरकारी संस्था महासंघ नेपालले स्टल नम्बर ७४ को ८९ लाख ९० हजार ७४६ रुपैयाँ तिर्न बाँकी छ ।
नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियु (अखिल)ले स्टल नम्बर ६० र ६१ भाडामा लिएर २०७७ सालदेखि अहिलेसम्म भाडा नतिरेको उल्लेख गरिएको छ
त्यस्तै नेपाल राष्ट्रिय मानव अधिकार संरक्षण मञ्चले २१ लाख ८५ हजार ९५७ रुपैयाँ तिर्न बाँकी छ । यता ऋषि धमलासम्बद्ध रिपोर्टर्स क्लब नेपालले पनि ७३ लाख ४० हजार ९० रुपैयाँ भाडा नतिरेपछि उनको स्टलमा पनि ताला लगाइएको छ ।
यसैगरी उपभोक्ता मञ्च नेपालले ४५ लाख ५७ हजार ९०७ रुपैयाँ, लोकतान्त्रिक सहिद तथा घाइते समाजले १४ लाख ६१ हजार ३७० रुपैयाँ र नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले ३३ लाख ७ हजार ४२१ रुपैयाँ भाडा नतिरेका छन् ।
सेन्थेसिस एक्जिबिसन एण्ड इभेन्ट्सले १० लाख रुपैयाँ, मनकला श्रेष्ठको जुत्ता पसलले ७ लाख ४६ हजार २३ रुपैयाँ, टीकाराम सिटौलाको जुत्ता पसलले ११ लाख ८० हजार ६२५ रुपैयाँ र कृष्णप्रसाद लामिछानेको जुत्ता पसलले ८ लाख ९८ हजार १६३ रुपैयाँ तिर्न बाँकी छ ।
खाजा पसलतर्फ यशोदाकुमारी सेठीले १० लाख ५९ हजार १५६ रुपैयाँ, हरि हमात्यले ५ लाख १५ हजार ६६४ रुपैयाँ, नारायणकुमारी निरौलाले २ लाख ७३ हजार १३ रुपैयाँ, बुद्धिराम भुसालले ६ लाख ८७ हजार ७३४ रुपैयाँ, मञ्जु तिमिल्सिनाले ९ लाख ७ हजार ७१० रुपैयाँ र चित्रबहादुर पण्डित क्षेत्रीले २ लाख १९ हजार ५६७ रुपैयाँ तिर्न बाँकी रहेको छ ।
त्यस्तै नेपाल फोटो पत्रकार महासंघले पनि २० लाख ६८ हजार रुपैयाँ भाडा नतिरेपछि सम्बन्धित स्टलमा तालाबन्दी गरिएको छ ।
परिषद्ले २०६९ सालदेखि नै पटक-पटक पत्राचार, सार्वजनिक सूचना प्रकाशन र असुली समिति गठन गरे पनि यी संस्थाहरूले भाडा तिर्न अटेरी गर्दै आएका थिए ।
समाज कल्याण परिषद्की अध्यक्षसमेत रहेकी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादीले भृकुटीमण्डपमा विभिन्न संघ संस्था र व्यक्तिहरूले प्रयोग गरिएको स्थानको भाडा नबुझाइएको विषयमा चासो लिएकी थिइन् ।