पश्चिमी र स्थानीय वायुको दोहोरो प्रभाव, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं । देशको मौसमी प्रणालीमा हाल पश्चिमी वायु र स्थानीय वायुको संयुक्त प्रभाव देखिएको छ, जसका कारण विभिन्न भू-भागमा मौसममा आंशिक परिवर्तन आएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार यस प्रभावले विशेषगरी पहाडी र हिमाली क्षेत्रमा बदलीको अवस्था सिर्जना गरेको हो।
हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा सामान्यदेखि आंशिक बदली रहेको छ भने अन्य पहाडी क्षेत्रमा पनि आंशिक बादल लागेको अवस्था रहेको छ। तराईका अधिकांश जिल्लामा भने मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ।
सोमबारका लागि गरिएको पूर्वानुमानअनुसार हिमाली क्षेत्रमा बदलीको प्रभाव अपेक्षकृत बढी रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली कायम रहने देखिएको छ। विशेषगरी कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही स्थान तथा अन्य हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।
तराई क्षेत्रमा भने घाम लाग्ने र मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरिएको छ। हिमाली क्षेत्रमा हुने वर्षा र हिमपातका कारण तापक्रममा केही गिरावट आउन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ।