अर्थमन्त्रीको चार ठाउँमा घर र अपार्टमेन्ट, साढे ३ करोड ऋण

त्यस्तै, उनीसँग ४५ तोला सुन छ । विभिन्न कम्पनीमा गरी उनीसँग १ करोड ९० लाख रुपैयाँ सेयर रहेको छ ।

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उक्त विवरण अनुसार वाग्लेसँग चारवटा घर तथा अपार्टमेन्ट रहेको देखिएको छ । विवरण अनुसार काठमाडौँको चन्द्रागिरीमा ३ रोपनी, ललितपुरको सानेपामा ३.७५ आना, भैसेपाटीमा ४ आना लगायत धुलिखेल, बन्दीपुर, गोरखाको शहीद लखन र गोरखा नगरपालिका, चितवनको रत्ननगर र तनहुँको भानु नगरपालिका समेत जग्गा रहेको छ। 

त्यस्तै, उनीसँग ४५ तोला सुन छ । यो पारिवारिक तथा रोजगारीबाट आर्जन गरेको विवरण छ । विभिन्न कम्पनीमा गरी उनीसँग १ करोड ९० लाख रुपैयाँ सेयर रहेको छ । जसमा सानिमा मिडल तमोर हाइड्रोको ७१ हजार ९३, सांग्रिला विकास बैंकको २५ हजार ७६२ कित्ता सेयर छ । नेशनल फण्ड म्यानेटमेन्ट, ठूलो खोला, अपर मादी खोलाको गरी ९० लाख, ६० लाख, ३ करोड मूल्यको सेयर रहेको छ ।

उनले राष्ट्रिय वाणिज्य बैंकबाट ३८, स्ट्याडर्ड चार्टड बैंकबाट ७५ लाख, ग्लोबल आइएमइबाट १ करोड ५ लाख र व्यक्तिगत सापटीबाट २ करोड ५० लाख रुपैयाँ लिएको उल्लेख गरेका छन् । जसमा राष्ट्रिय वाणिज्य बैंक र स्ट्याडर्ड चार्टड बैंकबाट ३८ लाख र ७५ लाख भने चुक्ता गरिसकेको उल्लेख गरेका छन् ।

अन्तर्राष्ट्रिय अर्थशास्त्रीका रूपमा ख्याति कमाएका वाग्लेले आफ्नो अधिकांश सम्पत्तिको स्रोतमा विश्व बैंक, यूएनडीपी लगायतका अन्तर्राष्ट्रिय निकायहरूमा गरेको रोजगारीबाट प्राप्त आयलाई मुख्य आधार मानेका छन् ।