नेपालमा पाइने जडिबुटीबाट औषधि उत्पादनको ठूलो सम्भावना छ : मन्त्री चौधरी
वनस्पती विभागको ६६ औँ वार्षिकोत्सव तथा २७ औँ वनस्पति दिवसको अवसरमा आइतवार आयोजित कार्यक्रममा उनले सम्भावना हुँदाहुँदै पनि त्यसलाई अझै प्रारम्भिक चरणमै सिमित राखिएको बताइन् ।
काठमाडौं । वन तथा वातावरणमन्त्री गीता चौधरीले नेपालमा पाइने जडिबुटीबाट औषधि उत्पादनको ठूलो सम्भावना रहेको बताएकी छिन् ।
वनस्पती विभागको ६६ औँ वार्षिकोत्सव तथा २७ औँ वनस्पति दिवसको अवसरमा आइतवार आयोजित कार्यक्रममा उनले सम्भावना हुँदाहुँदै पनि त्यसलाई अझै प्रारम्भिक चरणमै सिमित राखिएको बताइन् । विभागलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धान संस्थासँग सहकार्य गरी कम्तीमा प्रि-क्लिनिकल ट्रायलसम्म पुग्ने वातावरण तयार गर्न निर्देशन दिइन् ।
उनले विभागले विकास गरेका विभिन्न फर्मुलाहरूलाई सरकारी तथा निजी क्षेत्रसँग सहकार्य गर्दै व्यावसायिक उत्पादनमा लैजान सकिने बताइन् । यसले राजश्व वृद्धिसँगै स्वदेशमै उद्योग स्थापना र रोजगारी सिर्जनामा टेवा पुग्ने उनको भनाइ छ । अनुसन्धानमूलक उपलब्धिलाई प्रयोगमा ल्याउन ढिलाइ नगर्न आग्रह गर्दै मन्त्री चौधरीले वैज्ञानिकहरूलाई प्रोत्साहन गर्ने व्यवस्था आवश्यक रहेको उनले उल्लेख गरिन् ।
विभागले नेपालमा रहेका वानस्पतिक सम्पदाको वैज्ञानिक पद्धतिद्वारा अभिलेखिकरण गरी ‘वृहत नेपाल फ्लोरा’ प्रकाशन गर्ने तयारी गरेको छ ।
हाल ६ सय ५८ वटा प्रजातिका वनस्पतिहरूको अभिलेखिकरण भइसकेको विभागले जनाएको छ । कार्यक्रममा वानस्पातिक स्रोतको संरक्षण तथा विकासमा सहयोग गर्ने व्यक्तित्वहरूलाई सम्मान समेत गरिएको थियो ।