वैदेशिक रोजगार विभागका कर्मचारी घुससहित पक्राउ
काठमाडौं । काठमाडौंस्थित वैदेशिक रोजगार विभाग मा कार्यरत नायब सुब्बा होमबहादुर मनाङीलाई घुस लिएको आरोपमा पक्राउ गरिएको छ। अनुसन्धान तथा मुद्दा शाखामा कार्यरत ३८ वर्षीय मनाङीलाई शुक्रबार अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।
सेवाग्राहीले वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दाको प्रक्रिया सहजीकरण गरिदिने भन्दै मनाङीले घुस मागेर दुःख दिएको उजुरी आयोगमा दिएका थिए। सोही उजुरीको आधारमा निगरानी राख्दै गएको टोलीले उनलाई सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा रंगेहात पक्राउ गरेको जनाएको छ।
आयोगका अनुसार विभाग कार्यालय परिसरभित्रै रहेको अनुसन्धान तथा मुद्दा शाखाको कम्पाउन्डभित्रको शौचालयबाट बाहिर निस्कँदै गर्दा साँझ ५स्५४ बजे ‘सेवाग्राही प्रतिक्षलय’ नजिकैबाट उनलाई नियन्त्रणमा लिइएको थियो। पक्राउका क्रममा उनको साथबाट स्रोत नखुलेको थप ७७ हजार ६०० रुपैयाँ समेत बरामद भएको जनाइएको छ।
पक्राउ परेका मनाङीमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।