देशका विभिन्न क्षेत्रमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना
काठमाडौं । देशका विभिन्न स्थानमा आज वर्षा, हिमपात तथा हावाहुरीको सम्भावना रहेको छ। पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभावका कारण मौसममा परिवर्तन देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार दिउँसो कोसी प्रदेशका पहाडी तथा हिमाली भूभागसहित देशका अधिकांश हिमाली क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहनेछ। पहाडी भूभागमा आंशिक बदली रहने तथा कोसी प्रदेशको तराई क्षेत्रमा पनि आंशिक बदली रहनेछ भने बाँकी तराई क्षेत्रमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा अन्य हिमाली क्षेत्र र कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक(दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
यसैगरी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा हावाहुरी चल्ने सम्भावना पनि औंल्याइएको छ।
रातिको समयमा हिमाली भूभागमा सामान्य बदली, पहाडी क्षेत्रमा आंशिक बदली तथा तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने विभागको पूर्वानुमान छ। साथै, कोसी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा तथा अन्य हिमाली र पहाडी भूभागका एक(दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात जारी रहने सम्भावना रहेको छ।