नेप्से सूचक १३.४६ अंकले घट्दा ९ अर्बको सेयर किनबेच, ७ कम्पनीमा पोजेटिभ सर्किट
शुक्रबार नेप्से परिसूचक १३.४६ अंक घटेर २८३७.७७ विन्दुमा झरेको छ । आज ३३५ स्टकको ९७ हजार ४८० पटकको कारोबारमा ८ अर्ब ९९ करोड ३२ लाख ८० हजार रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ ।
काठमाडौं । साताको अन्तिम कारोबार दिन, नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ । पछिल्ला दुई कारोबार दिन बढेर बन्द भएको सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से), आज भने घटेर बन्द भएको हो । शुक्रबार नेप्से परिसूचक १३.४६ अंक घटेर २८३७.७७ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.३९ अंक घटेको छ भने फ्लोट इण्डेक्स र सेन्सेटिभ इण्डेक्स १.२६ अंक घटेको छ ।
नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन अर्थात बिहीबार ९ अर्ब ९१ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा आज ३३५ स्टकको ९७ हजार ४८० पटकको कारोबारमा ८ अर्ब ९९ करोड ३२ लाख ८० हजार रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ ।
आज ७ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । भुजुङ्ग हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, होटल फरेष्ट इन, पाल्पा सिमेन्ट इण्डष्ट्रीज, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र शिखर पावर डेभलपमेन्टको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । पाल्पा सिमेन्ट र शिखर पावर डेभलपमेन्ट आजदेखि कारोबारमा आएका कम्पनीहरु हुन् । कारोबारमा आएको एनआईसी एशिया ब्यालेन्स्ड फण्डको इकाईमूल्य सर्वाधिक ४.१७ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा आज नेशनल हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ५१ करोड ३२ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, यस दिन रिलायन्स स्पिनिङ्ग मिल्सको साढे ४३ करोड रुपैयाँबराबरको सेयर किनबेच भएको छ ।