नागरिक एपमै अब प्रवेशपत्रदेखि एनओसीसम्म, एक हप्ताभित्र सेवा विस्तार हुने

यसका साथै निजामती कर्मचारीको व्यक्तिगत विवरण, लोक सेवा आयोगका परीक्षर्थीको प्रवेशपत्र तथा वैदेशिक अध्ययनका लागि आवश्यक नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नागरिक एपबाटै उपलब्ध हुने भएको छ ।

काठमाडौं । सरकारले डिजिटल सुशासनलाई दीर्घकालीन बनाउने लक्ष्यसहित नागरिक सेवाहरूलाई अनलाइनमार्फत उपलब्ध गराउने अभियानलाई तीव्र बनाएको छ । यसका साथै निजामती कर्मचारीको व्यक्तिगत विवरण, लोक सेवा आयोगका परीक्षर्थीको प्रवेशपत्र तथा वैदेशिक अध्ययनका लागि आवश्यक नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नागरिक एपबाटै उपलब्ध हुने भएको छ । उक्त प्रणाली परीक्षणको चरणमा रहेको र आगामी एक हप्ताभित्र पूर्ण रूपमा कार्यान्वयनमा आइसक्ने छ । 

यहि चैत १३ गते मन्त्रिपरिषद्बाट स्वीकृत ‘शासकीय सुधार सम्बन्धी एक सय कार्यसूची’ अन्तर्गत बुँदा नंम्बर ३५ मा नागरिक एपबाटै प्रमाणपत्रहरु डाउनलोड गर्न सक्ने सुविधा दिने विषय उल्लेख छ। सो बुँदा कार्यान्वयनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले समयसीमा सहितको कार्यायोजना तयार पारी सम्बन्धित निकायलाई तोकिएको अवधिभित्रै काम सकिसक्न भनेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। बिक्रम तिमिल्सिनाले मातहतका सम्बन्धित निकायहरूलाई नागरिक एपमार्फत थप सेवा एकीकृत गर्न तथा डिजिटल प्लेटफर्ममार्फत सेवा विस्तारलाई तीव्रता निर्देशनसमेत दिएका छन । मन्त्रीस्तरीय निर्देशनपछि सूचना प्रविधि विभागले विभिन्न सरकारी तथा प्राविधिक निकायहरूसँग समन्वय सुरु गरिसकेको छ । सोही क्रममा नेपाल इन्जिनियरिङ्ग परिषद्सँग सम्झौता गरी व्यवसायिक इन्जिनियरहरुको प्रमाणपत्र पनि नागरिक एपबाटै उपलब्ध हुने गरी प्रक्रिया अघि बढिसकेको विभागका महानिर्देशक साहले जानकारी दिए ।

 यसअघि नै नागरिक एपमार्फत प्रहरी चारित्रिक प्रमाणपत्र (पुलिस क्लियरेन्स रिपोर्ट) प्राप्त गर्ने सुविधा सञ्चालनमा आइसकेको छ ।