'यहाँ श्रम स्वीकृतिसम्बन्धी काम गरिन्छ’ भन्दै प्रचार गर्ने साइबर र तालिम केन्द्रमाथि कडाइ
देशिक रोजगार विभागका अनुसार यस्ता प्रचारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई भ्रममा पार्ने, अनावश्यक रूपमा पैसा असुल्ने र बिचौलियाको भूमिका निर्वाह गर्ने समस्या बढेपछि यस्तो कार्यमा पूर्ण प्रतिबन्ध लगाइएको हो ।
काठमाडौँ । अबदेखि कुनै पनि केन्द्रले ‘यहाँ श्रम गरिन्छ’ वा ‘श्रम स्वीकृतिसम्बन्धी काम गरिन्छ’ भन्ने किसिमका भ्रामक विज्ञापन गर्न नपाउने भएका छन् । वैदेशिक रोजगार विभागका अनुसार यस्ता प्रचारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई भ्रममा पार्ने, अनावश्यक रूपमा पैसा असुल्ने र बिचौलियाको भूमिका निर्वाह गर्ने समस्या बढेपछि यस्तो कार्यमा पूर्ण प्रतिबन्ध लगाइएको हो ।
श्रम गर्ने, वा श्रम शब्दको प्रयोग गरी कुनै पनि प्रचार प्रसार नगर्न र अहिले भइरहेको होडिङ बोर्ड, पर्चा, फ्लेक्स र भित्ते लेखनलगायतका सामग्रीसमेत यही चैत मसान्तभित्र अनिवार्य हटाउन विभागले निर्देशन दिएको छ । तोकिएको समयभित्र प्रचार सामग्री नहटाउने व्यवसायी तथा साइबरहरूलाई कानुनअनुसार कारबाही गर्ने भन्दै विभागले सचेतसमेत गराएको छ ।
वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको श्रम स्वीकृतिसम्बन्धी कार्य वैदेशिक रोजगार विभाग तथा सातै प्रदेशमा रहेका श्रम तथा रोजगार कार्यलयहरूबाट हुन्छ । यी कार्यलयहरूबाट श्रम स्वीकृति लिन अनलाइन फारम भर्नुपर्छ । वैदेशिक रोजगार विभाग ताहाचल कार्यालय परिसर र प्रदेशस्थित श्रम तथा रोजगार कार्यालय छेउछाउ थुप्रै साइबार तथा व्यवसायीहरूले श्रम स्वीकृतिको अनलाइन फारम भरिदिने व्यवसाय नै गर्दै आएका छन् ।