आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्न अस्पतालहरुलाई मन्त्रालयको निर्देशन
सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरे पनि स्वास्थ्य सेवालाई निरन्तर र प्रभावकारी बनाउन मन्त्रालयले यस्तो व्यवस्था मिलाउन सबै निकायलाई अनुरोध गरेको हो ।
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदाको समयमा स्वास्थ्य सेवा निरन्तर र प्रभावकारी रूपमा सञ्चालन गर्न अस्पतालहरुलाई निर्देशन दिएको छ । सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरे पनि स्वास्थ्य सेवालाई निरन्तर र प्रभावकारी बनाउन मन्त्रालयले यस्तो व्यवस्था मिलाउन सबै निकायलाई अनुरोध गरेको हो । मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्ति अनुसार अस्पतालहरूले आफ्नो कार्यबोझ र जनशक्ति हेरेर आइतबार ओपिडी सेवा उपलब्ध गराउनुपर्नेछ । आइतबार सेवा प्रवाह गर्दा खटिने कर्मचारीहरूलाई शनिबारबाहेक साताको अर्को एक दिन बिदा दिने वा सो सम्भव नभए सट्टा बिदा उपलब्ध गराउन मन्त्रालयले निर्देशन दिएको छ ।
यो व्यवस्था प्रादेशिक अस्पतालहरूमा समेत लागू गर्न र सम्बन्धित प्रदेशका स्वास्थ्य विषय हेर्ने मन्त्रालयहरूलाई आवश्यक समन्वय र व्यवस्था मिलाउन अनुरोध गरिएको छ । मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा सर्वसाधारणको सहज पहुँच सुनिश्चित गर्न र सेवा प्रवाहमा कुनै बाधा पर्न नदिन यो कदम चालिएको उल्लेख छ ।