पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, निगम अझै घाटामा

काठमाडौं। नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य निरन्तर उकालो लागिरहेका कारण ठूलो आर्थिक दबाब खेप्नुपरेको भन्दै निगमले नयाँ मूल्य समायोजन गरेको जनाएको छ।

नयाँ समायोजनअनुसार पेट्रोलमा प्रति लिटर १७ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रति लिटर २५ रुपैयाँले वृद्धि गरिएको छ। यससँगै पेट्रोलको खुद्रा मूल्य विभिन्न क्षेत्रमा २१६।५० रुपैयाँदेखि २१९ रुपैयाँसम्म पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य २०४।५० रुपैयाँदेखि २०७ रुपैयाँसम्म कायम गरिएको छ।

निगमका अनुसार भन्सार महसुल तथा पूर्वाधार विकास कर समायोजनपछि पनि आर्थिक घाटा घट्न सकेको छैन। हाल पेट्रोलमा प्रति लिटर १६।६५ रुपैयाँ, डिजेलमा प्रति लिटर १०९।५० रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिण्डर ४१६।३७ रुपैयाँ घाटा रहेको जनाइएको छ। यस आधारमा निगमलाई प्रत्येक पन्ध्र दिनमा करिब १० अर्ब २१ करोड ९१ लाख रुपैयाँ घाटा व्यहोर्नु परिरहेको छ।

निगमले जारी गरेको विज्ञप्तिमा निरन्तर घाटा बढ्दै गएमा इन्डियन आयल कर्पोरेशन लाई गर्नुपर्ने भुक्तानीमा समेत असर पर्न सक्ने र इन्धन आपूर्तिमा समस्या आउन सक्ने चेतावनी दिएको छ। सोही कारण पूर्ण लागत मूल्य अनुसार वृद्धि नगरी आंशिक रूपमा मात्र मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ।

यसै क्रममा एलपी ग्यासमा प्रति सिलिण्डर १०० रुपैयाँ वृद्धि भएसँगै १४।२ केजीको ग्यासको मूल्य २०१० रुपैयाँ पुगेको छ भने आन्तरिक हवाई इन्धनमा प्रति लिटर ६ रुपैयाँले मूल्य बढाइएको छ। मूल्य वृद्धि पछाडि पनि निगमलाई अझै प्रत्येक पन्ध्र दिनमा करिब ७ अर्ब ८१ करोड रुपैयाँ घाटा हुने अनुमान गरिएको छ।

निगमले बढ्दो घाटाका कारण इन्धन आपूर्ति प्रभावित हुन सक्ने जोखिम औंल्याउँदै उपभोक्तालाई पेट्रोलियम पदार्थको प्रयोगमा मितव्ययिता अपनाउन आग्रह गरेको छ।