पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना, तराईमा हावाहुरीको चेतावनी
काठमाडौं । देशभर हाल पश्चिमी न्यूनचापीय प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभाव देखिँदा पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको छ भने तराई क्षेत्रमा हावाहुरी चल्ने पूर्वानुमान गरिएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार (चैत २७) देशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहेको छ भने तराई क्षेत्रमा आंशिक बदली देखिएको छ। विगत बिहीबार राति कोसी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भएको थियो।
विभागले दिएको जानकारीअनुसार आज दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भूभागमा सामान्य बदली रहनेछ। कोसी प्रदेशका पहाडी तथा तराई भूभागसहित अन्य पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली रहने तथा बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।
कोसी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानका साथै वाग्मती र गण्डकी प्रदेशका हिमाली भूभागमा हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको विभागले जनाएको छ। त्यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने चेतावनी समेत दिइएको छ।
रातिको मौसम पूर्वानुमानअनुसार कोसी प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहनेछ भने वाग्मती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। बाँकी क्षेत्रहरूमा मौसम सामान्यतया सफा रहने जनाइएको छ। साथै, कोसी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुने सम्भावना कायम रहने विभागले जनाएको छ।