पाकिस्तानको मध्यस्थतामा अमेरिका र इरानबीच १५ दिने युद्धविराम, विश्व बजारमा राहत
६ हप्तादेखि जारी भीषण सैन्य द्वन्द्वपछि संयुक्त राज्य अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने ऐतिहासिक सहमति भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार बिहान आफ्नो सामाजिक सञ्जाल 'ट्रुथ सोसल' मार्फत यस सम्झौताको औपचारिक घोषणा गर्नुभएको हो। यो सहमति यस्तो समयमा भएको हो जब राष्ट्रपति ट्रम्पले इरानलाई 'स्ट्रेट अफ हर्मुज' खुला गर्न दिएको अन्तिम समयसीमा सकिन मात्र दुई घण्टा बाँकी थियो। यसअघि उहाँले अल्टिमेटम पालना नभए इरानी सभ्यता नै नामेट पार्ने कठोर चेतावनी दिनुभएको थियो।
अत्यन्तै तनावपूर्ण र निर्णायक घडीमा पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले निर्वाह गर्नुभएको कुटनीतिक सक्रियताका कारण यो युद्धविराम सम्भव भएको हो। प्रधानमन्त्री सरिफले रातभर दुवै पक्षका शीर्ष नेतृत्वसँग निरन्तर संवाद गरी युद्ध रोक्न भूमिका खेल्नुभएको थियो। सहमतिपछि ह्वाइट हाउस र तेहरान दुवैले सरिफको मध्यस्थतालाई स्वीकार गर्दै धन्यवाद ज्ञापन गरेका छन्। प्रधानमन्त्री सरिफले पनि सामाजिक सञ्जाल 'एक्स' मार्फत अमेरिका, इरान र उनीहरूका सहयोगी राष्ट्रहरू तत्काल लागू हुने गरी युद्ध रोक्न सहमत भएकोमा खुसी व्यक्त गर्नुभएको छ।
यस युद्धविराममा इजरायल र लेबनानसमेत समेटिएको अधिकारीहरूको दाबी छ। इरानी सरकारी सञ्चार माध्यमहरूका अनुसार यो सहमति इरानले अघि सारेको १० बुँदे प्रस्तावमा आधारित छ। जसमा खाडी क्षेत्रका सम्पूर्ण द्वन्द्वको अन्त्य, सामुद्रिक मार्गको सुरक्षा मापदण्ड, इरानमाथिका प्रतिबन्धहरूको फुकुवा र युद्धग्रस्त क्षेत्रको पुनर्निर्माणजस्ता गम्भीर विषयहरू समावेश छन्। इरानले इजरायलबाट आक्रमण नहुने सुनिश्चितता भएमा रणनीतिक महत्त्वको 'स्ट्रेट अफ हर्मुज' खुला गर्ने सङ्केत समेत दिएको छ।
डेढ महिनादेखि जारी यस युद्धले ठूलो मानवीय क्षति निम्त्याएको छ। एक दर्जन देशहरू प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभावित भएको यस द्वन्द्वमा हालसम्म ५,००० भन्दा बढी मानिसको ज्यान गइसकेको छ, जसमा इरानका मात्रै १,६०० बढी सर्वसाधारण नागरिक परेका छन्। यो सहमतिसँगै आगामी १५ दिनभित्र पाकिस्तानको राजधानी इस्लामावादमा दुई देशबीच उच्चस्तरीय शान्ति वार्ता हुने तय भएको छ।
यस कुटनीतिक विकासले विश्व अर्थतन्त्रलाई ठूलो राहत दिएको छ। युद्धविरामको खबरसँगै अमेरिकी सेयर बजारमा उल्लेख्य सुधार आएको छ भने अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा १७ प्रतिशतले भारी गिरावट आइ ९२ डलर प्रति ब्यारेलमा झरेको छ। अन्तिम समयमा गरिएको यो सम्झौताले विश्वलाई विनाशकारी ठूलो युद्धको जोखिमबाट जोगाएको विश्लेषण गरिएको छ।