रुपन्देहीमा लागूऔषध तस्कर र प्रहरीबीच भिडन्त, गोली लागेर एक घाइते, तीन जना पक्राउ

काठमाडौं । रुपन्देहीमा लागूऔषध नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएका छन् भने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ। घाइते हुनेमा रोहिणी गाउँपालिका-२ खुरहुरियाका विशाल यादव रहेका छन्, जसको बायाँ खुट्टाको पिँडुलामा गोली लागेको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार, रोहिणी गाउँपालिका-४ कोटहवा क्षेत्रमा ठूलो परिमाणमा लागूऔषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा प्रहरी टोली परिचालित भएको थियो। सो क्रममा भारतीय नम्बर प्लेट UP 56 F 9901 को मोटरसाइकलमा सवार तीन जनालाई रोक्न खोज्दा उनीहरूले प्रहरीको आदेश अवज्ञा गर्दै फरार हुने प्रयास गरेका थिए।

प्रहरीले पिछा गर्ने क्रममा मोटरसाइकल अनियन्त्रित भई युवाहरू लडेका थिए। नियन्त्रणमा लिन खोज्दा उनीहरूले प्रहरी टोलीमाथि ढुङ्गामुढा गरी आक्रमण गरेपछि स्थिति तनावपूर्ण बनेको थियो। प्रतिरक्ष र अपराधीलाई उम्कन नदिन प्रहरीले सुरुमा एक राउण्ड हवाई फायर गरेको थियो। त्यसपछि पनि प्रतिरोध नरोकिएपछि थप दुई राउण्ड गोली प्रहार गर्दा विशाल यादव घाइते भएका हुन्। घाइते यादवको हाल भैरहवास्थित भीम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटनास्थलबाट प्रहरीले यादवसहित भारतको महाराजगञ्ज निवासी १८ वर्षीय अरुण कुमार र २० वर्षीय विनय पाण्डेयलाई पक्राउ गरेको छ। उनीहरूको साथमा रहेको मोटरसाइकल खानतलासी गर्दा प्रहरीले अवैध रूपमा भित्र्याइएको ठूलो परिमाणको लागूऔषध बरामद गरेको छ। बरामद गरिएका सामग्रीहरूमा फेनारगन ११०० एम्पुल, डाइजेपाम ११०० एम्पुल र ब्रुफिन ११०० एम्पुल रहेका छन्।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी कृष्णकुमार चन्दले पक्राउ परेकाहरूमाथि थप कानुनी प्रक्रिया अगाडि बढाइएको र यस नेटवर्कमा संलग्न अन्य व्यक्तिहरूको खोजीका लागि विस्तृत अनुसन्धान भइरहेको जानकारी दिनुभएको छ।