फेवाताल जग्गा विवाद: गृहमन्त्री गुरुङको स्पष्टीकरण—‘हामी नै ठगियौं, कानुनी बाटो खोज्दैछौं’

गृहमन्त्री सुधन गुरुङ पोखराको फेवाताल जग्गा प्रकरणमा मुछिएपछि उनको सचिवालयले स्पष्टिकरण दिँदै उनी आफैँ ठगिएको दाबी गरेको छ ।

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ पोखराको फेवाताल जग्गा प्रकरणमा मुछिएपछि उनको सचिवालयले स्पष्टिकरण दिँदै उनी आफैँ ठगिएको दाबी गरेको छ ।फेवाताल अतिक्रमित गरेर बनाइएका संरचनामा पोखरा महानगरले भत्काउन थालेपछि मन्त्री गुरुङले स्पष्टीकरण दिएका छन् । ‘हामीलाई जग्गाधनीहरूले उक्त जग्गा ६५ मिटरको मापदण्डभित्र पर्दैन भनी विश्वास दिलाएका थिए । लालपुर्जामा समेत जग्गा सुरक्षित रहेको भनी देखाए । तर, पछि नगरपालिकाबाट बुझ्दा त्यो त मापदण्डभित्र पर्ने रहेछ’, मन्त्री गुरुङले भनेका छन् । अतिक्रमित जग्गा भन्ने तथ्य लुकाई झुक्याई लिजमा दिंदा आफू सहित साझेदार ठगिएको गुरुङको दाबी छ ।

अतिक्रमित जग्गा आफूहरुलाई झुक्याएर लिजमा दिएको जानकारी प्राप्त हुनासाथ निर्माण कार्य र लगानी रोकेको मन्त्री गुरुङले दाबी गरे । मन्त्री गुरुङले ठगीविरुद्ध कानुनी उपचार खोज्ने बताएका छन् । ‘हामीलाई पर्न गएको यो अन्याय र ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्ने जानकारी गराउँदछु’, गुरुङले भने ।

साथै, विश्वासमाथि ठगी भएको भन्दै उनले अब यस विषयमा कानुनी उपचारको बाटो खोज्ने घोषणा समेत गरेका छन् । उनले सञ्चारमाध्यमहरूलाई पनि यथार्थ नबुझी एकतर्फी समाचार नलेख्न आग्रह गरेका छन् ।

 फेवातालको किनारमा ’एड्भेन्चर स्पोर्ट्स नेपाल’ सुरु गर्नका लागि मन्त्री गुरुङ सहित तीन जनाले जग्गा लिजमा लिएका थिए । उक्त जग्गा फेवातालको मापदण्ड बाहिर रहेको भनेर आफूलाई झुक्याएर लिजमा दिइएको उनले बताएका छन् । फेवाताल अतिक्रमित गरिएको जग्गा स्वयं गृहमन्त्रीले लिजमा लिएको भेटिएपछि उनी विवादमा तानिएका हुन् ।