नेपालको मौसम अपडेट, पहाडी र हिमाली भू-भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको संयुक्त प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हाल सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बादल लागेको भए तापनि अन्य भू-भागमा भने मौसम मुख्यतया सफा रहेको छ।

चैत २३ गते सोमबार दिउँसोको समयमा देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी क्षेत्रमा आंशिक बदली हुने देखिन्छ। यस क्रममा पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपात हुनसक्ने सम्भावना रहेको छ।

रातिको समयमा भने देशको हिमाली भू-भागमा साधारणतया बादल लाग्ने, पहाडी भू-भागमा आंशिक बादल लाग्ने र तराईका क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कोसी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका थोरै स्थानहरूका साथै वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको विभागले जानकारी दिएको छ।