नेपाल प्रहरीद्वारा ठूलो संख्यामा जवान पदका लागि दरखास्त आह्वान

काठमाडौं – नेपाल प्रहरीले रिक्त रहेका पदपूर्तिका लागि एकैपटक ठूलो संख्यामा भर्ना प्रक्रिया सुरु गरेको छ। प्रहरी प्रधान कार्यालय अन्तर्गतको मानवस्रोत विकास विभाग, भर्ना छनौट शाखाले जनपद प्रहरी समूहतर्फ दुई हजार ९२८ प्रहरी जवानका लागि नयाँ भर्ना खुलाएको हो। गत असोज १० गतेको विज्ञापन र त्यसपछि रिक्त भएका पदहरू समेतलाई दृष्टिगत गर्दै विभागले यो सूचना जारी गरेको जनाएको छ।

नयाँ भर्ना प्रक्रियामा खुला र समावेशी दुवै समूहलाई प्राथमिकता दिइएको छ। जसअनुसार खुलातर्फ सबैभन्दा बढी एक हजार ५७८ जनाका लागि कोटा निर्धारण गरिएको छ। यस्तै, कर्तव्य पालनको सिलसिलामा ज्यान गुमाएका वा अंगभंग भएका अमर–अशक्त प्रहरी परिवारका लागि ५८ वटा कोटा सुरक्षित गरिएको छ। समावेशी समूतर्फ पनि उल्लेख्य संख्यामा माग गरिएको छ, जसमा महिलाका लागि २५९, आदिवासी जनजातिका लागि ४१३, मधेशीका लागि ३६१, दलितका लागि १९४ र पिछडिएको क्षेत्रका लागि ६५ वटा सिट छुट्याइएको छ।

यस पटकको भर्ना सूचनामा सर्वोच्च अदालतको परमादेशको प्रसंगलाई समेत विशेष महत्वका साथ उल्लेख गरिएको छ। प्रेमलालप्रसाद चौधरीले २०७८ सालमा दायर गरेको रिटमा सर्वोच्च अदालतले २०७९ माघ २४ गते समावेशी कोटाको क्षतिपूर्तिसम्बन्धी परमादेश जारी गरेको थियो। सोही आदेशलाई आत्मसात गर्दै प्रहरी प्रधान कार्यालयले समावेशी समूहको अनुपात र विगतमा गुम्न गएका पदहरूको क्षतिपूर्तिलाई कानुनी व्यवस्था बमोजिम सम्बोधन गरिने स्पष्ट पारेको छ। हालका लागि प्रचलित कानुन अनुसार नै विज्ञापन प्रकाशित गरिएको भए तापनि भविष्यमा हुने कानुनी प्रबन्धले समावेशी हकलाई थप सुनिश्चित गर्ने सूचनामा उल्लेख छ।