कलाकार सागर लम्साल ‘बले’माथि लाग्यो बलात्कार आरोप
अमेरिका बस्ने एक युवतीले वर्ष दिनअघि आफ्नो इच्छाविपरीत लम्सालले जबर्जस्ती करणी गरेको आरोप लगाएकी हुन् । त्यो घटनापछि आफू मानसिक रूपमा थप विक्षिप्त बनेको बिहीबार फेसबुकमार्फत उनले बताएकी छन् ।
काठमाडौं । हास्य कलाकारको रूपमा परिचित सागर लम्साल (बले)माथि बलात्कारको आरोप लागेको छ । अमेरिका बस्ने एक युवतीले वर्ष दिनअघि आफ्नो इच्छाविपरीत लम्सालले जबर्जस्ती करणी गरेको आरोप लगाएकी हुन् । त्यो घटनापछि आफू मानसिक रूपमा थप विक्षिप्त बनेको बिहीबार फेसबुकमार्फत उनले बताएकी छन् । एक नेपाली फिल्ममा बाल कलाकारको रुपमा अभिनय गरेकी उनले सानैदेखि आफू डिप्रेसन र एन्जाइटीसँग संघर्ष गरिरहेको र औषधि समेत खाने गरेको उल्लेख गर्दै परिवारको आग्रहमा सागरसँग आफूले अमेरिकामा भेट गरेको बताएकी छन् । त्यसक्रममा सागरले आफूलाई अपार्टमेन्ट लैजान आग्रह गरेको र त्यहाँ आफू बलात्कृत भएको उनको दाबी छ । पारिवारिक रूपमै चिनजान भएको व्यक्तिसँग भेट्दा मनमा शान्ति र हौसला मिल्ने ठानेर भेटेको युवतीले बताएकी छन् । लम्सालले ‘तिम्रो अपार्टमेन्ट हेर्न लैजाऊ’ भनेपछि उनले आफू बस्ने कोठामा लगेको बताएकी छन् । कोठामा पुगेपछि रुँदै आफूले भोगेका मानसिक पीडा सुनाइरहँदा लम्सालले जबर्जस्ती करणी गरेको युवतीको आरोप छ । उनले सागर लम्साललाई सिधा प्रश्न गर्दै लेखेकी छन्- ‘कसैको जीवन बर्बाद पारेर बाँच्दा कस्तो महसुस हुन्छ, सागर लम्साल क्षेत्री?’
उनको यो पोस्टपछि धेरैले प्रतिक्रिया दिएका छन् । कमेन्टमा लम्साललाई पनि थुप्रैले प्रश्न गरेका छन् । सार्वजनिक रूपमा लागेको आरोपबारे लम्सालले कुनै प्रस्टीकरण दिएका छैनन् ।
उनी यसअघि पनि विवादमा परेका थिए । कलाकार प्रिज्मा खतिवडाविरुद्ध सोसल मिडियामा भ्रम फैलाएको, दुःख दिएको आरोपमा उनीविरुद्ध साइबर ब्युरोमा उजुरी परेको थियो ।