पश्चिम एसियामा अलपत्र नेपालीको उद्धारका लागि आजदेखि विशेष उडान सुरु
आज अप्रिल ३ मा काठमाडौं–दुबई उडान भर्नेछ भने भोलि अप्रिल ४ मा दुबईबाट नेपालीहरू लिएर जहाज काठमाडौं फर्कनेछ। त्यसैगरी, अप्रिल ५ मा काठमाडौं–दमाम र सोही दिन दमाम–काठमाडौं उडान गरी त्यहाँ रहेका नेपालीहरूलाई स्वदेश फिर्ता ल्याउने तयारी पूरा भएको छ।
काठमाडौं । पश्चिम एसियामा बढ्दो तनाव र असुरक्षाका कारण सिर्जित असहज परिस्थितिमा अलपत्र परेका नेपाली नागरिकहरूको उद्धारका लागि सरकारले आजदेखि तीन दिने विशेष उडान अभियान सुरु गरेको छ। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आज अप्रिल ३ देखि ५ सम्मका लागि उद्धार उडानको तालिका सार्वजनिक गर्दै सेवा सुरु गरेको हो।
यस विशेष अभियान अन्तर्गत नेपाल एयरलाइन्सले आज अप्रिल ३ मा काठमाडौं–दुबई उडान भर्नेछ भने भोलि अप्रिल ४ मा दुबईबाट नेपालीहरू लिएर जहाज काठमाडौं फर्कनेछ। त्यसैगरी, अप्रिल ५ मा काठमाडौं–दमाम र सोही दिन दमाम–काठमाडौं उडान गरी त्यहाँ रहेका नेपालीहरूलाई स्वदेश फिर्ता ल्याउने तयारी पूरा भएको छ। पश्चिम एसियामा विद्यमान तनावका कारण गत फेब्रुअरी २८ देखि नै नियमित उडानहरू स्थगित भएपछि ठूलो संख्यामा नेपालीहरू स्वदेश फर्किन वा आफ्नो गन्तव्यमा पुग्न नपाएर मर्कामा परेका थिए।
नागरिकहरूको सुरक्षा र सहज आवागमन सुनिश्चित गर्न चैत १७ गते परराष्ट्र मन्त्रालय, पर्यटन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण र वायुसेवा निगमका उच्च अधिकारीहरूबीच विशेष छलफल भएको थियो। परराष्ट्रमन्त्री शिशिर खनालको प्रत्यक्ष निर्देशनपछि यो उद्धार कार्यले गति लिएको हो। जोखिमपूर्ण अवस्थामा हुन लागेको यस उडानका लागि आवश्यक बीमा व्यवस्थापनमा राष्ट्रिय बीमा कम्पनीले प्राविधिक सहयोग उपलब्ध गराएको छ।
परराष्ट्र मन्त्रालयले विषम परिस्थितिमा पनि समन्वयकारी भूमिका निर्वाह गर्ने सबै निकायलाई धन्यवाद दिँदै यो विशेष उडानले संकटमा परेका नेपालीहरूलाई ठूलो राहत पुग्ने विश्वास व्यक्त गरेको छ। नियमित उडान ठप्प भएको लामो समयपछि सुरु भएको यो पहलले वैदेशिक रोजगारी र अन्य प्रयोजनका लागि पश्चिम एसियामा रहेका नेपालीहरूको सुरक्षित फिर्तीलाई प्राथमिकतामा राखेको छ।