पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हावाहुरी चल्ने चेतावनी

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यसको असरस्वरूप शुक्रबार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा आकाश साधारणतया बादलले ढाकिएको छ भने देशका अन्य भू-भागमा आंशिक रूपमा मौसम सफा रहने देखिन्छ। विशेषगरी दिउँसोको समयमा सबै प्रदेशका हिमाली क्षेत्रका साथै लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू-भागमा बदलीको अवस्था रहनेछ।

यसैगरी गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका केही स्थानहरू तथा अन्य पहाडी भू-भागका फाट्टफुट्ट ठाउँहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ। मौसम विभागले तराईका जिल्लाहरूमा भने केही स्थानमा हावाहुरी चल्न सक्ने चेतावनी दिएको छ। रातिको समयमा पनि पहाडी र हिमाली भेगमा बादल लाग्ने क्रम जारी रहनेछ भने कोसी, गण्डकी र कर्णालीका हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना कायमै रहनेछ। तराई क्षेत्रमा भने रातको समयमा पनि हावाहुरी चल्ने सम्भावना देखिएको छ।