व्यापारी दीपक भट्टलाई हिरासतमा राख्न अदालतले दियो १० दिनको म्याद

काठमाडौं जिल्ला अदालतले सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेका व्यापारी दीपक भट्टलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

काठमाडौं । काठमाडौं जिल्ला अदालतले सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेका व्यापारी दीपक भट्टलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । जिल्ला न्यायाधीश माधवप्रसाद सुवेदीको इजलासले भट्टलाई पहिलोपटक १० दिनको म्याद थप गरेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भट्टलाई बिहीबार दिउँसो काठमाडौंबाट पक्राउ गरेको थियो। पक्राउ लगत्तै उनलाई म्याद थपका लागि अदालत उपस्थित गराइएको थियो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको मागबमोजिम अदालतले अनुसन्धानका लागि समय दिएको हो । भट्टमाथि बीमा ऐन, २०७९ को दफा १४० बमोजिमको कसुरजन्य कार्य गरी आर्जन गरेको सम्पत्ति धितोपत्र बजार (सेयर बजार) र अन्य क्षेत्रमा लगानी गरी त्यसको अवैध स्रोत लुकाएको, छलेको र स्वरूप बदलेको आरोप छ ।