विदेशी मुद्रा सञ्चिति ३४ खर्ब नाघ्यो, साढे १८ महिनाको आयात धान्न पुग्ने

यो सञ्चितिले बैंकिङ क्षेत्रको हालको आयात क्षमताअनुसार १८.५ महिनासम्मका वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ ।

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ को फागुनसम्म देशको कुल विदेशी मुद्रा सञ्चिति ३४ खर्ब १३ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । यो सञ्चितिले बैंकिङ क्षेत्रको हालको आयात क्षमताअनुसार १८.५ महिनासम्मका वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ । केवल वस्तु आयातलाई आधार मानेमा यो सञ्चिति २१.४ महिनासम्मको आवश्यकतालाई धान्न सक्छ । गत असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति फागुनसम्ममा आइपुग्दा २७.५ प्रतिशतले बढेको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा फागुन मसान्तमा १८.३ प्रतिशतले बढेर २३ अर्ब ८ करोड डलर पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रुपैयाँ रहेकोमा २०८२ फागुन मसान्तमा २५.७ प्रतिशतले बढेर ३० खर्ब ३५ अर्ब ११ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा २ खर्ब ६३ अर्ब ४ करोड रुपैयाँ रहेकोमा २०८२ फागुन मसान्तमा ४४.० प्रतिशतले बढेर ३ खर्ब ७८ अर्ब ६६ करोड कायम भएको छ ।

२०८२ फागुन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.० प्रतिशत रहेको छ । २०८२ फागुन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ५५.९ प्रतिशत, १५३.८ प्रतिशत र ४०.८ प्रतिशत रहेका छन् । २०८२ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए ।