सहकारी पीडितसँग मन्त्री रावलले गरिन् प्रत्यक्ष छलफल

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी पीडितसँग प्रत्यक्ष छलफल सुरु गरेकी छन् । सरकारले आगामी सय दिनभित्र साना सहकारी बचतकर्ताहरूको डुबेको रकम फिर्ता गराउने लक्ष्य राखेको छ ।

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी पीडितसँग प्रत्यक्ष छलफल सुरु गरेकी छन् । सरकारले आगामी सय दिनभित्र साना सहकारी बचतकर्ताहरूको डुबेको रकम फिर्ता गराउने लक्ष्य राखेको छ । सोही लक्ष्यलाई कार्यान्वयनमा ल्याउन र पीडितका वास्तविक समस्या सुन्न मन्त्री रावलले संवादको थालनी गरेको जनाइएको छ । मन्त्रालयमा आयोजित छलफलमा ‘पीडित बचतकर्ता अभियान राष्ट्रिय महासङ्घ’ का प्रतिनिधिहरूको सहभागिता रहेको थियो । छलफलका क्रममा महासङ्घका प्रतिनिधिहरूले सहकारी सञ्चालकहरूबाट भएको ठगी, न्याय प्राप्तिका लागि आफूहरूले गरिरहेको सङ्घर्ष र रकम फिर्ताको सुनिश्चितताका विषयमा मन्त्री रावलको ध्यानाकर्षण गराएका थिए । जवाफमा मन्त्री रावलले सहकारी समस्या समाधान गर्न सरकार गम्भीर रूपमा लागिपरेको बताएकी छन् । उनले साना बचतकर्ताको पसिनाको कमाइ जसरी पनि फिर्ता गराउने सरकारको सय दिने कार्ययोजना सफल बनाउन मन्त्रालयले तदारुकताका साथ काम गरिरहेको जानकारी बताइन् । उक्त छलफलले सहकारी पीडितहरूको समस्या समाधानतर्फ ठोस पहल हुने अपेक्षा गरिएको छ ।