मार्चमा भित्रिए एक लाख २० हजारभन्दा बढी पर्यटक, भारतबाट सबैभन्दा धेरै
सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । तथ्यांक अनुसार मार्चमा दक्षिण एसियाली (सार्क) मुलुकबाट मात्रै ४२ हजार ६ सय ६८ पर्यटक आएका छन् ।
काठमाडौं । सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार मार्च महिनामा दक्षिण एसियाली र अन्य एसियाली मुलुकबाट आउने पर्यटकको संख्यामा उल्लेख्य रूपमा वृद्धि देखिएको छ । तथ्यांक अनुसार मार्चमा दक्षिण एसियाली (सार्क) मुलुकबाट मात्रै ४२ हजार ६ सय ६८ पर्यटक आएका छन् । जुन कुल आगमनको करिब ३५.४ प्रतिशत हो । यसमध्ये भारतबाट सबैभन्दा धेरै २५ हजार ७ सय २८ आएका छन् । श्रीलंकाबाट १० हजार ७ सय ५९ र बंगलादेशबाट ४ हजार ६ सय ७६ पर्यटकले नेपाल भ्रमण गरेका छन् । भारत पहिलो स्थानमा छ ।
त्यस्तै चीनबाट ११ हजार २ सय २०, म्यानमार ६ हजार २० र थाइल्यान्डबाट ३ हजार ८ सय ९७ पर्यटक आएका छन् । जापान, मलेसिया र दक्षिण कोरियाबाट समेत उल्लेख्य आगमन भएको छ । समग्रमा ‘अन्य एसिया’ क्षेत्रबाट ३३ हजार ४ सय ३६ पर्यटक भित्रिएका छन्, जुन कुल आगमनको करिब २७.७ प्रतिशत हो । युरोपेली र अमेरिकी बजारबाट आउने पर्यटक संख्या स्थिर देखिन्छ ।
पश्चिम एसियामा जारी युद्धको प्रभावका कारण युरोप र अमेरिकाबाट पर्यटक आगमन वृद्धिमा असर परेको बोर्डले जनाएको छ । यद्यपि, एसियाली बजारको तुलनामा युरोप र अमेरिकाबाट आउने पर्यटक संख्या कम भए पनि उच्च खर्च गर्ने पर्यटकका रूपमा उनीहरूको योगदान महत्त्वपूर्ण मानिन्छ ।
मार्च २०२५ मा १ लाख २१ हजार ६ सय ८७ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । कोभिड–१९ सुरु हुनुअघि भने सोही महिनामा १ लाख २७ हजार ३ सय ५१ आगमन भएको थियो । फेब्रुअरी २०२६ मा १ लाख ५ हजार ४ सय ४१ पर्यटक आएका थिए । मार्च–अप्रिललाई मौसम, ट्रेकिङ सिजन लगायतले आगमन वृद्धि हुने महिनाका रूपमा हेरिन्छ । तर, यस वर्षको मुख्य सिजनमा नै पश्िचम एसियामा चर्किएको युद्धले अन्तर्राष्ट्रिय उडान प्रभावित हुनुका साथै सम्बन्धित मुलुकले जारी गरेको ‘ट्राभल एडभाइजरी’ ले गर्दा उल्लेख्य वृद्धि हुन सकेको छैन ।