चट्याङ लागेर मकवानपुरमा एकको मृत्यु, एक घाइते
मकवानपुरको बागमती गाउँपालिकामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । मंगलबार साँझ परेको चट्याङका कारण स्थानीय ३२ वर्षीय अजय पहरीको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मंगलबार साँझ करिब ६:३० बजे हावाहुरी र वर्षासँगै परेको चट्याङले बागमती गाउँपालिका–१, भैसेस्थित बागमती खोलाको बगरमा दुई जनालाई लागेको थियो । चट्याङ लागेर गम्भीर घाइते भएका पहरीको हेटौँडास्थित अस्पतालमा उपचारका क्रममा राति ११:२५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) पुष्कर बोगटीले जानकारी दिए ।
मृतक पहरी र घाइते ३७ वर्षीय उज्वल थोकर बागमती खोलामा माछा मारेर घर फर्कँदै गर्दा चट्याङको चपेटामा परेका थिए । घटनालगत्तै स्थानीय र प्रहरीको सहयोगमा उनीहरूलाई उद्धार गरी प्रारम्भिक उपचारका लागि झुरझुरेस्थित सान्भि पोलिक्लिनिक लगिएको थियो । त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि हेटौँडा रिफर गरिएकोमा पहरीलाई चिकित्सकले मृत घोषणा गरेका हुन् ।
अर्का घाइते उज्वल थोकरको हाल हेटौँडामै उपचार भइरहेको छ । प्रहरीका अनुसार उनको अवस्था मध्यम रहेको र खतरामुक्त रहेको बुझिएको छ । पछिल्लो समय प्रि-मनसुन सक्रिय भएसँगै देशभर हावाहुरी र चट्याङका घटनामा वृद्धि हुन थालेपछि सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।