पहाडी भू-भागमा वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको दोहोरो प्रभाव कायम रहेकाले देशको मौसमी प्रणालीमा फेरबदल आएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस मौसमी गतिविधिका कारण बागमती, गण्डकी, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशका पहाडी तथा हिमाली भू-भागहरूमा अहिले पूर्ण बदलीको अवस्था रहेको छ भने तराईका क्षेत्रमा आंशिक बदली देखिएको छ। हाल गण्डकी प्रदेशका विभिन्न स्थानसहित कोशी, बागमती र कर्णालीका उच्च भेगमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपात भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो पनि हिमाली क्षेत्रमा मौसम साधारणतया बदली नै रहनेछ भने पहाडी र तराईका भू-भागमा आंशिक बदलीको सम्भावना छ। विशेष गरी कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा र बागमतीदेखि सुदूरपश्चिमसम्मका हिमाली भेगका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने प्रक्षेपण गरिएको छ। रातिको समयमा भने पहाडी र तराईका क्षेत्रमा मौसम मुख्यतया सफा रहने भए पनि कोशी, गण्डकी र कर्णालीका हिमाली क्षेत्रमा बादल लाग्ने र केही स्थानमा हल्का हिमपात हुने सम्भावना छ।
देशका विभिन्न प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङ र मध्यम वर्षाको जोखिम रहेकाले महाशाखाले सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। वर्षा र हिमपातले दैनिक जनजीवनमा प्रभाव पार्न सक्ने भएकाले पछिल्लो मौसमी अवस्थाबारे अपडेट रहन र आवश्यक सावधानी अपनाउनसमेत महाशाखाले सचेत गराएको छ।