व्यवसायी दीपक भट्ट अध्यागमनको कालोसूचीमा, विदेश यात्रामा रोक
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा अध्यागमन विभागले भट्टलाई सोमबार कालोसूचीमा राखेको हो । राजनीतिक व्यक्तिसँग पहुँचमा रहेर सेटिङ मिलाएर स्वार्थअनुरूप काम गराउँदै आएको भट्टमाथि आरोप लाग्ने गरेको छ ।
काठमाडौँ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा विस्तृत अनुसन्धान तीव्र बनेसँगै विवादास्पद व्यापारी दीपक भट्टलाई अध्यागमनको कालोसूचीमा राखिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा अध्यागमन विभागले भट्टलाई सोमबार कालोसूचीमा राखेको हो । राजनीतिक व्यक्तिसँग पहुँचमा रहेर सेटिङ मिलाएर स्वार्थअनुरूप काम गराउँदै आएको भट्टमाथि आरोप लाग्ने गरेको छ । अध्यागमनको कालोसूचीमा परेसँगै भट्टलाई विदेश यात्रामा रोक लागेको छ । अध्यागमनको कालोसूचीमा परेका व्यक्ति सम्बन्धित अनुसन्धान गर्ने निकाय वा नेपाल सरकारको पूर्व स्वीकृति बेगर विदेश यात्रा गर्न पाउँदैनन् । भट्ट इन्फिनिटी होल्डिङस्का प्रमुख हुन् ।
शंकास्पद कारोबार फेला परेपछि २०७९ मंसिरमै उनी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छानबिनमा तानिएका थिए । विभागले उनीसँग प्रारम्भिक बयान पनि लिएको थियो । तर, पछि अनुसन्धान रोकिएको थियो । नयाँ सरकार बनेसँगै पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल लगाय र उनीहरू निकटका व्यक्तिको समेत सम्पत्ति शुद्धीकरणको अनुसन्धानलाई तिव्रता दिइएको छ ।