वैदेशिक रोजगारीमा जाने कामदारले अब सबै सरकारी अस्पतालबाट स्वास्थ्य परीक्षण गर्न पाउने
नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहले स्वास्थ्य क्षेत्रको सिन्डिकेट तोड्दै अस्पतालबाट पनि स्वास्थ्य परीक्षण गराउने बाटो खुला गरिदिएका हुन् ।
काठमाडौं । वैदेशिक रोजगारीमा जाने कामदारले अब आफ्नो स्वास्थ्य परीक्षण सबै अस्पतालबाट पनि गर्न पाउने भएका छन् । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहले स्वास्थ्य क्षेत्रको सिन्डिकेट तोड्दै अस्पतालबाट पनि स्वास्थ्य परीक्षण गराउने बाटो खुला गरिदिएका हुन् ।
आज बिहानै श्रम मन्त्री शाहले वैदेशिक रोजगारीमा जाने कामदारका हकमा स्वास्थ्य परीक्षण समितिबाट मात्र नभई अस्पतालबाट पनि गर्ने निर्णय गरिएको बताए । उनले वैदेशिक रोजगारीमा जाने कामदारका लागि अस्पतालबाट पनि स्वास्थ्य परीक्षण गर्न सक्ने व्यवस्था गरिएको जानकारी दिए । मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार वैदेशिक रोजगारी ऐन, २०६४ र नियमावली, २०६४ मा भएको व्यवस्थाअनुसार श्रमिकले विदेश जानुअघि स्वीकृत स्वास्थ्य संस्थाबाट परीक्षण गराउनुपर्ने प्रावधान छ। तर, व्यवहारमा सीमित संस्थामार्फत मात्रै सेवा दिएपछि सिन्डिकेटको आरोप लाग्दै आएको थियो ।
श्रम तथा रोजगार मन्त्रालयले जारी गरेको मापदण्डअनुसार हाल १९४ वटा स्वास्थ्य संस्था नवीकरण भएका छन् । यिनै संस्थामार्फत वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण हुँदै आएको थियो । अब आगामी दिनमा सबै अस्पतालबाट स्वास्थ्य परीक्षण गर्न मिल्ने भएको छ । यसअघि वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ परीक्षणका लागि ६ हजार ६ सय रूपैयाँ शुल्क लिएर निश्चित नीजि स्वास्थ संस्थाले परीक्षण गराउँदै आएका थिए ।