सरकारले सार्वजनिक खरिद ऐन संशोधन गर्न देखाएको चासो सकारात्मक : सिंह
महासंघको २६ औं साधारण सभा तथा १३ औँ अधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्दै महासंघले सरकारले सार्वजनिक खरिद ऐन तथा पूर्वाधार क्षेत्रसँग सम्बन्धित कानून सुधारका लागि थालेको पहललाई सकारात्मक रूपमा लिएको बताए ।
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले नवगठित बालेन्द्र साह नेतृत्वको सरकारले सार्वजनिक खरिद ऐन संशोधन गर्न देखाएको चासो सकारात्मक रहेको बताएका छन् । महासंघको २६ औं साधारण सभा तथा १३ औँ अधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्दै महासंघले सरकारले सार्वजनिक खरिद ऐन तथा पूर्वाधार क्षेत्रसँग सम्बन्धित कानून सुधारका लागि थालेको पहललाई सकारात्मक रूपमा लिएको बताए । उनले जनताले दिएको जनादेशअनुसार प्रधानमन्त्री शाहसहित राष्ट्रिय स्वतन्त्र पार्टी का नेतृत्वले सुरुवाती दिनदेखि नै मुलुकलाई सही दिशामा अघि बढाउने प्रयास थालेको संकेत देखिएको बताए ।
सरकारले ३० दिनभित्र सार्वजनिक खरिद ऐनसहित पूर्वाधार क्षेत्रलाई प्रभावित गर्ने सबै ऐन, कानुन र नियमहरू परिमार्जन गर्न समिति गठन गरिसकेको छ । ५ दिनभित्र मस्यौदा तयार पार्ने जिम्मेवारीसहित सार्वजनिक खरिद अनुगमन कार्यालयका सहसचिवको संयोजकत्वमा कार्यदल गठन गरिएको र उक्त कार्यदलले तयार पार्ने मस्यौदा सरकारलाई बुझाइने उनले बताए । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो घोषणापत्रमा भ्रष्टाचार र कुशासन अन्त्य गरी सुशासन स्थापना गर्ने तथा रोजगारी सिर्जना गर्ने लक्ष्य अघि सारेको स्मरण गराउँदै उनले १२ लाख रोजगारी सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरेको बताए । उनले बालेन सरकारसँग सहकार्य गरेर निर्माण व्यवसायी अघि बढ्ने बताए ।