भारतबाट बिजुली आयात समय घट्यो, परिमाण बढ्यो — अब दैनिक १६ घण्टा मात्रै आपूर्ति

नयाँ व्यवस्थाअनुसार अब नेपालले दैनिक १६ घण्टा मात्रै भारतबाट बिजुली आयात गर्न पाउनेछ । यद्यपि खरिद गर्न पाइने बिजुलीको परिमाण भने बढाइएको छ । अब नेपालले अधिकतम ९५० मेगावाटसम्म बिजुली खरिद गर्न पाउनेछ ।

काठमाडौँ । भारतले नेपाललाई दिने बिजुलीको समय घटाएको छ भने परिमाण बढाएको छ । नयाँ व्यवस्थाअनुसार अब नेपालले दैनिक १६ घण्टा मात्रै भारतबाट बिजुली आयात गर्न पाउनेछ । नेपाल विद्युत् प्राधिकरणका अनुसार भारतले आफ्नो इनर्जी एक्सचेन्ज बजार (आईइएक्स) मार्फत बिजुली खरिदका लागि दिएको अनुमति नवीकरण गर्दै समय घटाएको हो । यसअघि नेपालले २४ घण्टा नै ६ सय ५४ मेगावाटसम्म बिजुली खरिद गर्न पाउने व्यवस्था थियो ।

नयाँ अनुमतिअनुसार अप्रिल १ देखि १५ सम्म २४ घण्टा नै बिजुली आयात गर्न पाइनेछ । तर त्यसपछि भने दैनिक १६ घण्टा मात्रै आयात गर्न पाइनेछ । अप्रिल १६ देखि ३० सम्म बिहान २ बजेदेखि साँझ ६ बजेसम्म र मेदेखि अगस्टसम्म बिहान ४ बजेदेखि बेलुका ८ बजेसम्म बिजुली आयात गर्न पाउने व्यवस्था गरिएको छ । भारतले यसअघि पनि रातिको समय र उच्च माग (पिक आवर) मा बिजुली आपूर्ति नगर्ने गरेको थियो ।

यद्यपि खरिद गर्न पाइने बिजुलीको परिमाण भने बढाइएको छ । अब नेपालले अधिकतम ९५० मेगावाटसम्म बिजुली खरिद गर्न पाउनेछ । ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट ६ सय मेगावाट, उत्तरप्रदेशबाट ५० मेगावाट र बिहारबाट अप्रिल–मेमा २२० मेगावाट तथा त्यसपछिका महिनामा ३०० मेगावाटसम्म आयात गर्न सकिनेछ । प्राधिकरणले हाल औसतमा करिब ४ सय मेगावाट बिजुली आयात गर्दै आएको छ । सुक्खायाममा नदीको बहाव घट्ने भएकाले आन्तरिक उत्पादन कम हुँदा भारतबाट बिजुली आयात गर्नुपर्ने अवस्था रहँदै आएको छ ।