देशका विभिन्न भागमा वर्षा र चट्याङको सम्भावना
काठमाडौँ — नेपालमा हाल कायम रहेको पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले गर्दा मंगलबार देशभरको मौसममा उल्लेख्य बदलाव आउने देखिएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मुलुकका विभिन्न क्षेत्रमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षाको प्रबल सम्भावना रहेको छ । विशेषगरी कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू-भागका धेरैजसो स्थानहरूमा र अन्य बाँकी भू-भागका केही स्थानहरूमा समेत मौसम प्रतिकुल रहने महाशाखाको प्रक्षेपण छ ।
मौसमविद्हरूका अनुसार हालको मौसमी गतिविधि सामान्य हिउँदकालीन नभएर केही हदसम्म मनसुनकै झल्को दिने प्रकृतिको रहेको छ । त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक एवं मौसमविद् विनोद पोखरेलले हालको अवस्थालाई विश्लेषण गर्दै मनसुन सुरु भइनसके पनि वायुमण्डलको प्रकृति मनसुनकालीन समयको जस्तै देखिएको स्पष्ट पार्नुभएको छ । उहाँका अनुसार पश्चिमी वायुको सामान्य प्रभावसँगै बंगालको खाडीबाट तल्लो सतहमा आएको जलवाष्पयुक्त हावाका कारण बादलहरू नहटेकाले झरी र मेघगर्जनको स्थिति सिर्जना भएको हो ।
आज पहाडी क्षेत्रमा वर्षाका साथै उच्च हिमाली भेगहरूमा हल्कादेखि मध्यम हिमपातको समेत आकलन गरिएको छ । हावाहुरी र असिनासहितको वर्षाले दैनिक जनजीवन र कृषि क्षेत्रमा प्रभाव पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद् पोखरेलले सुझाव दिनुभएको छ । महाशाखाले पनि मौसममा आएको यो फेरबदलका कारण हुन सक्ने सम्भावित जोखिमप्रति सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।