नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनका लागि १ अर्ब १० करोडमा युसिनले पायो ५ वर्षको ठेक्का

आयोजनाले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै चिनियाँ कम्पनी चोङकिङ युसिन रोड एन्ड ब्रिज डेभलपमेन्ट र नेपाली कम्पनी ‘एआरटी कन्स्ट्रक्सन’ को जेभीलाई छनोट गरिएको जनाएको छ ।

काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालन, व्यवस्थापन र मर्मतसम्भारका लागि ठेकेदार कम्पनी छनोट भएको छ । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले चिनियाँ र नेपाली कम्पनीको संयुक्त उपक्रम र युसिन–एआरटीलाई यसको जिम्मेवारी दिने निर्णय गरेको हो । आयोजनाले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै चिनियाँ कम्पनी चोङकिङ युसिन रोड एन्ड ब्रिज डेभलपमेन्ट र नेपाली कम्पनी ‘एआरटी कन्स्ट्रक्सन’ को जेभीलाई छनोट गरिएको जनाएको छ । यो कम्पनीले २.६५ किलोमिटर लामो सुरुङमार्गको आगामी ५ वर्षसम्म सञ्चालन र मर्मतसम्भार गर्नेछ । युसिन–एआरटी जेभीले भ्याट र प्रोभिजलनल सहित कुल १ अर्ब १० करोड ४० लाख ३७ हजार ८ सय रुपैयाँमा ठेक्का पाएको हो । यो रकम सरकारी लागत अनुमानभन्दा करिब ४० प्रतिशत कम हो । सम्झौताअनुसार कम्पनीले वार्षिक औसत २२ करोड रुपैयाँमा सुरुङमार्गको सञ्चालन, प्राविधिक व्यवस्थापन र मर्मतसम्भारको काम गर्नुपर्नेछ । यो संयुक्त उपक्रमले सर्भिस प्रोभाइडरको जिम्मा पाए पनि सम्झौता हुन भने बाँकी छ ।

यसअघि आयोजनाले सन् २०२५ नोभेम्बर २ मा बोलपत्र आह्वान गरेको थियो । प्राप्त बोलपत्रहरूमध्ये सबैभन्दा कम रकम प्रस्ताव गर्ने यो कम्पनीलाई आशयको सूचना जारी गरिएको हो ।