बालेन सरकारका १०० प्रतिबद्धता ट्र्याक गर्न ‘प्रतिपक्ष डटकम’ सञ्चालनमा, प्रगति सार्वजनिक हुने

बालेन्द्र शाह नेतृत्वको सरकारले सार्वजनिक गरेको १०० बुँदे ‘शासकीय सुधार कार्यसूची’को प्रत्यक्ष निगरानी र मूल्याङ्कनका लागि ‘प्रतिपक्ष डटकम’ नामक वेबसाइट सञ्चालनमा आएको छ ।

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले सार्वजनिक गरेको १०० बुँदे ‘शासकीय सुधार कार्यसूची’को प्रत्यक्ष निगरानी र मूल्याङ्कनका लागि ‘प्रतिपक्ष डटकम’ नामक वेबसाइट सञ्चालनमा आएको छ । नवगठित मन्त्रिपरिषद्को पहिलो बैठकबाट स्वीकृत भई सार्वजनिक गरिएको कार्यसूचीलाई आधार बनाएर यो प्लेटफर्म तयार गरिएको हो ।

सरकारले २४ घण्टादेखि १०० दिनभित्र सम्पन्न गर्ने लक्ष्यसहित ल्याएको कार्यसूचीमा प्रशासनिक सुधार, सार्वजनिक सेवा प्रवाह, डिजिटल शासन, सुशासन र भ्रष्टाचार नियन्त्रण, लगानी तथा पर्यटन प्रवर्द्धन, ऊर्जा, राजस्व, स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधार र सामाजिक सुरक्षालगायतका महत्वपूर्ण क्षेत्र समेटिएका छन् ।

‘प्रतिपक्ष डटकम’ले ती सबै प्रतिबद्धताहरूलाई आधार मानेर प्रगतिको अवस्था स्पष्ट रूपमा वर्गीकृत गरेको छ। वेबसाइटमार्फत कति काम सम्पन्न भए, कति कार्य प्रगतिमा छन्, कति अधुरै छन् र कतिको सुरुवात समेत नभएको तथ्याङ्क सार्वजनिक रूपमा हेर्न सकिन्छ । साथै, प्रत्येक बुँदाको समयसीमा र हालको अवस्था पनि अद्यावधिक रूपमा उपलब्ध गराइएको छ, जसले नागरिकलाई सरकारको कामकारबाहीबारे प्रत्यक्ष जानकारी दिने लक्ष्य राखेको छ ।

वेबसाइट नेपाली र अङ्ग्रेजी दुवै भाषामा उपलब्ध गराइएको छ, जसले सर्वसाधारणका लागि पहुँच सहज बनाएको छ । प्राविधिक रूपमा आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरी ‘भाइब कोडिङ’मार्फत तयार गरिएको यस प्लेटफर्ममा १०० ओटै प्रतिबद्धताको संक्षिप्त विवरण समेटिएको छ । यद्यपि, यो वेबसाइट कसले सञ्चालन गरिरहेको हो भन्ने खुलाइएको छैन ।