लुम्बिनी प्रदेशकी सांसद रेखाकुमारी शर्मा बाल हिंसाको आरोपमा पक्राउ
काठमाडौँ — नेकपा (एमाले) बाट लुम्बिनी प्रदेश सभा सदस्य रहेकी रेखाकुमारी शर्मालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार राति धुम्बाराहीस्थित उनकै निवासबाट नियन्त्रणमा लिएको हो ।
सांसद शर्मामाथि दाङकी एक नाबालिकालाई घरेलु कामदारका रूपमा राखेर शारीरिक तथा मानसिक हिंसा गरेको गम्भीर आरोप लागेको छ । २०८१ जेठ १४ गते काठमाडौँ महानगरपालिकाले बालुवाटारस्थित शर्माको घरबाट ती बालिकाको उद्धार गरेपछि यो प्रकरण सार्वजनिक भएको थियो । उद्धारका क्रममा बालिकालाई कुटपिट गरिएको, बाहिर निस्किन नदिइएको र उचित बसोबासको व्यवस्था नगरी मानसिक पीडा दिइएको पाइएको महानगरको दाबी छ ।
घटना सार्वजनिक भएलगत्तै २०८१ जेठ ३० गते जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दर्ता भएको थियो । महानगरपालिकाले बालबालिकासम्बन्धी ऐन २०७५ को दफा ६६ बमोजिम कारबाहीको माग गर्दै मुद्दा अघि बढाएको थियो । उक्त ऐनमा बालबालिकालाई शारीरिक चोटपटक पुर्याउने वा मानसिक पीडा दिने कार्यलाई हिंसा मान्दै ५० हजार रुपैयाँसम्म जरिवाना र एक वर्ष कैद सजायको व्यवस्था छ ।
यसअघि २०८१ माघमा सरकारी वकिलको कार्यालयले शर्माविरुद्ध मुद्दा नचल्ने निर्णय गरेपछि यो विषय निकै विवादित बनेको थियो । सो निर्णयपछि काठमाडौँका मेयर बालेन शाहले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गर्दै ‘समय आउने’ चेतावनी दिएका थिए । यो विवाद सर्वोच्च अदालतसम्म पुगेको थियो, जहाँ न्यायाधीशत्रय सपना प्रधान मल्ल, टेकप्रसाद ढुंगाना र नहकुल सुवेदीको पूर्ण इजलासले बालिकालाई अभिभावकसँग पुनर्मिलन गराउन र बालिग नहुन्जेलसम्मको शिक्षा एवं हेरचाहको जिम्मा महानगरलाई लिन परमादेश जारी गरेको थियो ।
एमाले महासचिव शंकर पोखरेल निकट मानिने सांसद शर्माविरुद्धको पुरानो मुद्दा पुनः सक्रिय भएपछि उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । हाल प्रहरीले घटनाको थप सूक्ष्म अनुसन्धान अगाडि बढाएको छ ।