साउदीको प्रिन्स सुल्तान हवाई आधारमा इरानी आक्रमण, अमेरिकी सेनाको विमान ध्वस्त
साउदी अरेबियाको प्रिन्स सुल्तान हवाई आधारमा भएको इरानी क्षेप्यास्त्र तथा मानवरहित विमान आक्रमणमा अमेरिकी सेनाको एक महत्वपूर्ण निगरानी विमानमा ठूलो क्षति पुगेको छ ।
काठमाडौँ । साउदी अरेबियाको प्रिन्स सुल्तान हवाई आधारमा भएको इरानी क्षेप्यास्त्र तथा मानवरहित विमान आक्रमणमा अमेरिकी सेनाको एक महत्वपूर्ण निगरानी विमानमा ठूलो क्षति पुगेको छ ।
अमेरिकी पत्रिका द वाल स्ट्रिट जनरलका अनुसार उक्त आक्रमणमा बोइङ ई–३ सेन्ट्री विमान पनि क्षतिग्रस्त भएको छ । यो उन्नत रडार प्रणालीसहितको हवाई निगरानी तथा नियन्त्रण विमान हो, जसले सयौं किलोमिटर टाढासम्मका विमान र क्षेप्यास्त्रको निगरानी गरी सेनालाई तुरुन्त जानकारी दिने क्षमता राख्छ ।
शुक्रबार भएको उक्त आक्रमणमा १२ जना अमेरिकी सैनिक घाइते भएका छन् भने इन्धन भर्ने प्रयोजनका लागि प्रयोग हुने अन्य केही विमानमा पनि क्षति पुगेको बताइएको छ ।
समाचारअनुसार यस आक्रमणअघि अमेरिकासँग यस्ता सञ्चालनमा रहेका करिब १६ वटा मात्र ई–३ सेन्ट्री विमान बाँकी रहेका थिए, जबकि यसअघि तिनको संख्या झण्डै ३० थियो ।
पत्रिकाले ती विमानको तत्काल सहज विकल्प उपलब्ध नभएको पनि उल्लेख गरेको छ । सम्भावित विकल्पका रूपमा ई–७ वेजटेल नामक नयाँ विमानको मूल्य करिब ७० करोड अमेरिकी डलर पर्ने अनुमान गरिएको छ ।