जेनजी आन्दोलनको असर : ८६३ ऋणी प्रभावित, ३७ अर्बको नोक्सानी

जेनजी आन्दोलन र त्यसले निम्त्याएको परिस्थितिले बैंकिङ क्षेत्रमा गहिरो समस्यामा परेको कुरा प्रतिवेदनमा उल्लेख छ । उक्त आन्दोलनका कारण करिब ८६३ ऋणीहरु प्रत्यक्ष प्रभावित भएका र करिब ३७ अर्ब रुपैयाँको नोक्सानी भएको तथ्यांक छ ।

काठमाडौं । पछिल्लो समय बैंकिङ क्षेत्रले केही गम्भीर चुनौती र अवरोधहरुको सामना गर्नु परिरहेको कार्की आयोगको प्रतिवेदनले औंल्याएको छ । कार्की आयोगको प्रतिवेदन अुनसार पारदर्शी नियमनका बाबजुद केही अराजक समूहहरुले बैंक तथा वित्तीय संस्थाहरुमाथि पटक–पटक प्रहार गरिरहेका छन् । २०७९ सालपछि यस्ता उच्छृङ्खल गतिविधिहरु बढ्दै गएको प्रतिवेदनमा उल्लेख गरिएको छ । जेनजी आन्दोलन र त्यसले निम्त्याएको परिस्थितिले बैंकिङ क्षेत्रमा गहिरो समस्यामा परेको कुरा प्रतिवेदनमा उल्लेख छ । उक्त आन्दोलनका कारण करिब ८६३ ऋणीहरु प्रत्यक्ष प्रभावित भएका र करिब ३७ अर्ब रुपैयाँको नोक्सानी भएको तथ्यांक छ ।

बजारमा मन्दीका कारण कर्जा असुलीमा गम्भीर समस्या देखिएको छ भने ५२ अर्ब रुपैयाँ बराबरको गैर–बैंकिङ सम्पत्ति थुप्रिनुले बैंकहरुको नाफामा समेत गिरावट ल्याएको छ । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमध्ये १२ वटाको वितरणयोग्य नाफा ऋणात्मक रहनुले यो क्षेत्र कति चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको छ भन्ने देखाउँछ ।

यसले बैंकहरुलाई कर्जा पुनर्तालिकीकरण गर्न बाध्य मात्र बनाएको छैन, समग्र बजारमा तरलता र लगानीको वातावरणमा समेत नकारात्मक प्रभाव पारेको छ । अराजक समूहहरूको भड्काउ अभिव्यक्तिका कारण कर्जा असुलीमा अवरोध पुग्दा बैंकका कर्मचारीहरुले असुरक्षित महसुस गरिरहेका छन् ।

आयोगले बैंकिङ क्षेत्रलाई पुनः लयमा फर्काउन र सबल बनाउन आगामी कार्यदिशा समेत तय गरेको छ । अबका दिनमा बैंकहरुले घर–बाटो सिफारिस र लिलामी प्रक्रियामा स्थानीय प्रशासनको पूर्ण सहयोग पाउनुपर्ने वातावरण बनाउनु आवश्यक देखाएको छ ।

बैंक कर्मचारीमाथि हुने दुव्र्यवहार र आक्रमण रोक्न प्रहरी प्रशासनसँगको समन्वयमा स्थायी संयन्त्र निर्माण गर्नुपर्ने सुझाव प्रतिवेदनले दिएको छ । बैंकहरुले पनि खराब कर्जा व्यवस्थापनलाई प्राथमिकता दिँदै साना तथा मझौला व्यवसाय र उत्पादनमूलक क्षेत्रमा कर्जा विस्तार गरेमा मात्र देशको अर्थतन्त्रले पुनः गति लिन सक्ने प्रतिवेदनको निष्कर्ष छ ।