इनिशा मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको पुष्टि

इनिशाको मृत्यु प्रकरणमा प्रहरीले सामूहिक बलात्कार नभएको निष्कर्ष निकालेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले घटनाको अनुसन्धान टुंग्याएर प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको जनाएको हो ।

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले इनिशा विक मृत्यु प्रकरणको अनुसन्धान टुंगोमा पुर्‍याएको छ । इनिशाको मृत्यु प्रकरणमा प्रहरीले सामूहिक बलात्कार नभएको निष्कर्ष निकालेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले घटनाको अनुसन्धान टुंग्याएर प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको जनाएको छ । गत फागुन २३ गते वीरेन्द्रनगर नगरपालिका–१ की इनिशा विद्यालय जाने भन्दै घरबाट निस्किएकी थिइन् । घटनापछि प्रहरीले एक १६ वर्षीय किशोरलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो । प्रारम्भिक बयानमा ती किशोरले इनिशासँग शारीरिक सम्पर्कपछि अत्यधिक रक्तस्राव भएर उनी अचेत भएको बताएका छन् ।

पोस्टमार्टम प्रतिवेदनले पनि यौनाङ्गको भित्री भागमा लागेको गहिरो चोटका कारण अत्यधिक रक्तस्राव भई मृत्यु भएको देखाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनामा अन्य तीन जनालाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गरिएको थियो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइसकिएको जानकारी दिए । सोही दिन वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वनमा उनी अचेत अवस्थामा फेला परेकी थिइन् । प्रहरीले उद्धार गरी कर्णाली प्रदेश अस्पताल पुर्‍याए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । मुख्य अभियुक्तविरुद्ध जबरजस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी मुद्दा दायर गरी जन्मकैदको माग गरिएको प्रहरीले जनाएको छ। अन्य तीन जनाविरुद्ध भने घटनास्थलमा उपस्थित भएर पनि पीडितलाई बचाउने प्रयास नगरेको आरोपमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाइएको छ ।

यसअघि पीडित परिवारले सामूहिक बलात्कारपछि हत्या भएको आशंका गर्दै विरोध जनाएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) समेत घटनाको अनुसन्धानमा संलग्न भएको थियो । प्रहरीले उच्च प्रविधिको प्रयोग गरी अनुसन्धान गरेको जनाएको छ ।