तनहुँको कटुस मह विश्व बजारमा : १ किलोको ५० हजार
तनहुँको वन क्षेत्रमा पाइने कटुसको मह (Chestnut Honey) यतिबेला विश्व बजारमा पुगेको छ । अमेजनमा उपलब्ध विवरणअनुसार ‘मारानी चेस्टनट हनी’ को २५० ग्रामको जारलाई ८३ अमेरिकी डलर तोकिएको छ ।
काठमाडौं । तनहुँको वन क्षेत्रमा पाइने कटुसको मह (Chestnut Honey) यतिबेला विश्व बजारमा पुगेको छ । हालै संयुक्त राज्य अमेरिकाको प्रिमियम बजारलाई लक्षित गरी सार्वजनिक गरिएको यो मह विश्वकै प्रसिद्ध अनलाइन बजार अमेजनमा उपलब्ध भइसकेको छ । सूर्य नेपालले ‘हिमालयन ट्रेजर्स’ अभियानअन्तर्गत ‘मारानी’ चेस्टनट मह सार्वजनिक गर्दै नेपाली कृषि उपजलाई ‘एग्रो–लक्जरी’ स्तरमा उकास्ने प्रयास थालेको हो ।
अमेजनमा उपलब्ध विवरणअनुसार ‘मारानी चेस्टनट हनी’ को २५० ग्रामको जारलाई ८३ अमेरिकी डलर तोकिएको छ । यस हिसाबले १ किलोग्राम महको मूल्य ३३२ डलर (बुधबारको विनिमयदर अनुसार करिब ५० हजार रुपैयाँ) हुन्छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा तनहुँ क्षेत्र नम्बर १ का सांसद स्वर्णिम वाग्ले ले सामाजिक सञ्जालमार्फत यस्तो उपलब्धिप्रति खुशी व्यक्त गर्दै नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने प्रयास सराहनीय रहेको बताएका छन्। सूर्य नेपालको ‘हिमालयन ट्रेजर’ ब्राण्डमार्फत गरिएको प्रशोधन, परीक्षण, प्याकेजिङ र बजार विस्तारले यस्ता उत्पादनलाई विश्व बजारमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ। उच्च गुणस्तरका कारण अन्तर्राष्ट्रिय बजारमा महँगो मूल्यमा बिक्री भइरहेको यो महले स्थानीय उत्पादनको अन्तर्राष्ट्रिय पहिचान स्थापित गर्न सफल भएको छ ।
सूर्य नेपालका अनुसार ‘मारानी गोल्ड’ केवल मह मात्र होइन, यो नेपालको हिमाली ‘टेरोइर’ को आत्मा भएको जनाएको छ । सूर्य नेपालले मारानीको उत्पादनमा ‘सोर्स–टु–सिल’प्रणाली अपनाएको जनाएको छ । कम्पनीले अमेरिकी बजार रोज्नुको पछाडि न्युजिल्यान्डको प्रसिद्ध ‘मनुका’महजस्ता अन्तर्राष्ट्रिय ब्रान्डसँग नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न सक्छ भन्ने सन्देश दिनु भएको जनाएको छ । अमेरिकी खाद्य तथा औषधि प्रशासनका जटिल नियमहरू पार गर्दै अमेजनमा बिक्री सुरु हुनुले नेपालका अन्य कृषि उपजका लागिसमेत ढोका खोलेको कम्पनीले जनाएको छ ।