स्टार्टअप कर्जामा उत्साहजनक सहभागिता : १० हजारभन्दा बढी प्रस्ताव प्राप्त
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले सार्वजनिक गरेको विवरणअनुसार हालसम्म कुल १० हजार २४४ परियोजना प्रस्ताव प्राप्त भएका छन् ।
काठमाडौँ । स्टार्टअप उद्यमलाई प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको सहुलियतपूर्ण कर्जा कार्यक्रममा उल्लेखनीय सहभागिता देखिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले सार्वजनिक गरेको विवरणअनुसार हालसम्म कुल १० हजार २४४ परियोजना प्रस्ताव प्राप्त भएका छन् । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयकाअनुसार कात्तिक १९ गतेसम्म स्टार्टअप उद्यमका लागि परियोजना प्रस्ताव आह्वान गरिएको थियो ।
“स्टार्टअप उद्यम कर्जा कार्यक्रम सञ्चालन कार्यविधि, २०८२” अनुसार आह्वान गरिएको प्रस्तावमा देशभरका ७७ जिल्ला र ७९३ स्थानीय तहबाट आवेदन परेको हो । प्राप्त प्रस्तावमध्ये २ हजार ४१ भौतिक रूपमा र ८ हजार २०३ विद्युतीय माध्यमबाट पेश भएका छन् । प्रत्येक विषयगत क्षेत्रमा आएका परियोजनालाई विज्ञसहितको मूल्याङ्कन समितिबाट अध्ययन गरी मूल्याङ्कन गरिएको छ । प्रत्येक विषयगत क्षेत्रमा आएका परियोजनालाई विज्ञसहितको मूल्याङ्कन समितिबाट अध्ययन गरी मूल्याङ्कन गरिएको छ ।
साथै, एआईमा आधारित स्क्रिनिङ सफ्टवेयरमार्फत प्रारम्भिक छनोट प्रक्रिया पनि सुरु गरिएको छ । कार्यविधिको मापदण्ड पूरा गरेका परियोजनाहरूलाई समेटेर प्रतिष्ठानले प्रारम्भिक सूची सार्वजनिक गर्नेछ । व्यावसायिक प्रस्तुतीकरणमा लाग्ने समय र लागतलाई ध्यानमा राख्दै अनुसूची–५ अन्तर्गत ‘ड’ शीर्षकको ६ अङ्कको प्रस्तुतीकरण बाहेक अन्य सूचकका आधारमा मूल्याङ्कन गरिनेछ । मूल्याङ्कन प्रक्रियामा परियोजनालाई ८० अङ्कको आधारमा मूल्याङ्कन गरिनेछ, जसमा व्यवसायिक प्रस्तुतीकरण, व्यवहार्यता, नवप्रवर्तन तथा अन्य सूचकहरू समेटिएका छन् । प्रारम्भिक सूचीमा परेका परियोजनालाई थप क्रेडिट जाँच गरी अन्तिम छनोट तथा कर्जा प्रवाह प्रक्रिया अघि बढाइने मन्त्रालयले स्पष्ट पारेको छ ।
मन्त्रालयका अनुसार नवीन सोच, सीप तथा क्षमतालाई व्यवसायमा रूपान्तरण गरी युवालाई स्टार्टअप उद्यममा संलग्न गराउने उद्देश्यले आर्थिक वर्ष २०८२/८३ का लागि ६६ करोड रुपैयाँ बजेट व्यवस्था गरिएको छ । हाल कार्यान्वयनमा रहेको ‘स्टार्टअप उद्यम कर्जा कार्यक्रम कार्यविधि, २०८१’ अनुसार सहुलियतपूर्ण कर्जा प्रवाह भइरहेको छ ।