मध्यपूर्वमा ऊर्जा संरचनामाथि इरानको आक्रमणको विषयमा राष्ट्र सुरक्षा परिषदको आकस्मिक बैठक

संयुक्त राष्ट्रमा बहराइनका राजदूत जमाल अलरोवाईले इरानले खाडी क्षेत्रका देश, जोर्डन लगायतका मुलुकमाथि लगातार आक्रमण गरिरहेकाले बैठक बोलाइएको बताएका छन् ।

काठमाडौँ । इरानका आक्रमणलाई लिएर संयुक्त राष्ट्र सुरक्षा परिषदको आकस्मिक बैठक बसेको छ । मध्यपूर्व क्षेत्रका ऊर्जा संरचनामाथि इरानले गरेको आक्रमणबारे छलफल गर्न बैठक आयोजना गरिएको हो ।

संयुक्त राष्ट्रमा बहराइनका राजदूत जमाल अलरोवाईले इरानले खाडी क्षेत्रका देश, जोर्डन लगायतका मुलुकमाथि लगातार आक्रमण गरिरहेकाले बैठक बोलाइएको बताएका छन् ।

बैठकपछि उनले परिषदका धेरै सदस्य राष्ट्रहरूले इरानसँग मार्च ११ को प्रस्ताव कार्यान्वयन गर्न माग गरेको जानकारी दिए । उक्त प्रस्तावमा खाडी क्षेत्रका देशमाथि हुने आक्रमण तत्काल रोक्न र सर्वसाधारण तथा ऊर्जा जस्ता नागरिक संरचनालाई निशाना नबनाउन आग्रह गरिएको छ ।

यो प्रस्ताव १३ मतका साथ पारित भएको थियो भने रुस र चीनले मतदानमा भाग लिएका थिएनन् । प्रस्तावमा इरानले होर्मुज जलडमरु क्षेत्रमा जहाज आवतजावत अवरुद्ध गर्ने, हस्तक्षेप गर्ने वा त्यससम्बन्धी धम्की दिने सबै गतिविधि बन्द गर्नुपर्ने पनि उल्लेख गरिएको छ ।

उक्त जलमार्ग विश्वको करिब २० प्रतिशत तेल आपूर्तिका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ ।