काठमाडौंको नागार्जुनबाट १ करोड १६ लाख नगदसहित दुई जना पक्राउ, ५ दिनको म्याद थप गरी अनुसन्धान

प्रहरीले विभिन्न व्यक्तिको नाममा काटेको २७ लाख ३० हजारको चेक, एटीएम, नागरिकता, २ थान चारपाङ्ग्रे सवारी, दुई पाङ्ग्रे सवारी १ थान, सवारी दर्ता किताब ३ थान, विभिन्न कम्पनीका ६ वटा मोबाइल, ३१ थान सिमकार्ड, १ थान कम्प्युटर लगायतका जिन्सि सामग्री बरामद गरेको छ ।

काठमाडौं । काठमाडौंका नागार्जुन नगरपालिका–८ भिमढुंगाबाट हुन्डी तथा अभौतिक मुद्राको कारोबारमा संलग्न २ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले उनीहरूलाई करोड १६ लाख नगदसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–८ का २८ वर्षीय सागर गिरी र सोही ठाउँका २८ वर्षीय प्रमोद प्रसाद धिताल छन् । उनीहरूलाई जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

नीहरूको साथबाट विभिन्न बैंकको विभिन्न व्यक्तिको नाममा रहेको चेक, विभिन्न व्यक्तिको नाममा काटेको २७ लाख ३० हजार रुपैयाँको चेक, विभिन्न व्यक्तिका नाममा रहेका एटीएम, नागरिकता, २ थान चारपाङ्ग्रे सवारी, दुई पाङ्ग्रे सवारी १ थान, सवारी दर्ता किताब ३ थान, विभिन्न कम्पनीका ६ वटा मोबाइल, ३१ थान सिमकार्ड, १ थान कम्प्युटर लगायतका जिन्सि सामग्री पनि प्रहरीले बरामद गरेको छ ।

अभौतिक मुद्राको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा परिसरबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।