सेयर बजार २८०० तल झर्यो, कारोबार करिब १२ अर्बमा सिमित

सोमबार नेप्से परिसूचक २६.०७ अंक घटेर २७९८.८३ विन्दुमा झरेको छ । आज ३४५ स्टकको १ लाख २ हजार ७५९ पटकको कारोबारमा ११ अर्ब ९७ करोड ४६ लाख ९६ हजार रुपैयाँबराबरको ३ करोड ७ लाख ९० हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) घटेर बन्द भएको छ । अघिल्ला दुई दिन बढेर बन्द भएको नेप्से, आज सोमबार भने घटेर बन्द भएको हो । सोमबार नेप्से परिसूचक २६.०७ अंक घटेर २७९८.८३ विन्दुमा झरेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन अर्थात आइतबार १४ अर्ब ३२ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा आज ३४५ स्टकको १ लाख २ हजार ७५९ पटकको कारोबारमा ११ अर्ब ९७ करोड ४६ लाख ९६ हजार रुपैयाँबराबरको ३ करोड ७ लाख ९० हजार कित्ता सेयर खरिदबिक्री भएको छ । 

आज ४ स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सकारात्मक सर्किट लेभलमा कारोबार हुनेमा सालपा विकास बैंक, रिलायन्स स्पिनिङ्ग मिल्स, अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी र सोलु हाइड्रोपावर रहेका छन् । आज मूल्य घटेका स्टकहरुको गिरावटदर साढे ४ प्रतिशतभन्दा कम रहेको छ । 

कारोबार रकमका आधारमा आज आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको आज ६८ करोड ७७ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । त्यस्तै, आज नेशनल हाइड्रोपावरको ६६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४८ कम्पनीको मूल्य बढ्दा २११ को घट्यो भने ४ को स्थिर रह्यो ।