मध्यपूर्व तनावले वैदेशिक रोजगारीमा सुस्तता, श्रम स्वीकृति रोकिँदा पनि फागुनमा विदेशिए ५३ हजार
फागुनमा सबैभन्दा बढी मलेसियामा १२ हजार ६०१ र यूएईमा ११ हजार ४ सय ९२ जना
सरकारले १७ फागुनमा श्रममन्त्री स्तरीय निर्णयबाट मध्यपूर्वका विभिन्न १२ देशहरु (साउदी, यूएई, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायल) मा वैदेशिक रोजगारी अर्थात् श्रम स्वीकृति (पुनः श्रम स्वीकृति समेत) बन्द गरेको थियो ।
काठमाडौं । मध्यपूर्वमा बढ्दो तनावले वैदेशिक रोजगारीमा केही सुस्तता छाएको छ ।
वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार फागुन महिनामा ५२ हजार ९ सय ४४ जनाले श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसमेत) लिएका छन् । फागुनको दोस्रो सातासम्म श्रम स्वीकृति लिएकाहरु विदेश जाने क्रम नरोकिएकाले अघिल्लो महिनाको तुलनामा केही संख्या घटेपनि विदेशिने क्रम भने नरोकिएको हो ।
यसअघि माघमा ७० हजार ५ सय ३ जना, पुसमा ६२ हजार ५ सय ५९ जना, मंसिरमा ६५ हजार ७ सय ५ जना श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए । फागुनमा वैदेशिक रोजगारीमा गएका कुल नेपालीमध्ये ४६ हजार ४ सय ५२ जना पुरूष र ६ हजार ३ सय ९२ महिला छन् । फागुनमा पहिलो पटक २८ हजार ३ सय ८३ जनाले श्रम स्वीकृति लिएका छन् भने २४ हजार ५ सय ६१ जनाले पुनः श्रम स्वीकृति लिएर गएका छन् ।
सरकारले १७ फागुनमा श्रममन्त्री स्तरीय निर्णयबाट मध्यपूर्वका विभिन्न १२ देशहरु (साउदी, यूएई, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायल) मा वैदेशिक रोजगारी अर्थात् श्रम स्वीकृति (पुनः श्रम स्वीकृति समेत) बन्द गरेको थियो । सरकारले अर्को सूचना जारी नभएसम्मका ति देशहरुमा श्रम स्वीकृति स्थगन गरेको छ । इजरायल–अमेरिका र इरानबीच युद्ध भएको पनि आज १७ दिन पुगेको छ ।
इरानले खाडी तथा अन्य देशमा रहेका अमेरिका सैन्य बेस क्याम्पमा मिसाइल तथा ड्रोन आक्रमण गर्दै आएको छ । जसले गर्दा यूएई, कतार, साउदी, ओमान, बहराइन लगायतका देशमा रहेका नेपालीहरूको सुरक्ष चिन्ता समेत बढिरहेको छ ।
फागुनमा सबैभन्दा बढी मलेसियामा १२ हजार ६०१ जना, यूएईमा ११ हजार ४ सय ९२, कतारमा ६ हजार ७ सय ७५ जना, साउदी अरेबियामा ६ हजार २ २५ जना श्रम स्वीकृति लिएका छन् ।