उपभोक्ताको हक–हित संरक्षण गर्नु राज्यको प्रमुख दायित्व हो : मन्त्री सिन्हा

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिल कुमार सिन्हाले उपभोक्ताको हक–हित संरक्षण गर्नु राज्यको प्रमुख दायित्व भएको बताएका छन् । उपभोक्ता संरक्षण ऐन २०७५ र नियमावलीहरूको प्रभावकारी कार्यान्वयनका लागि सबै सरोकारवालाहरू गम्भीर हुनुपर्नेमा उनले जोड दिए ।

काठमाण्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिल कुमार सिन्हाले उपभोक्ताको हक–हित संरक्षण गर्नु राज्यको प्रमुख दायित्व भएको बताएका छन् । विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानले प्रत्याभूत गरेको उपभोक्ता अधिकारलाई व्यवहारमा उतार्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । मन्त्री सिन्हाले नेपालको संविधानको धारा ४४ ले प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु र सेवा प्राप्त गर्ने हकलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको कुरा सम्झाए ।

उपभोक्ता संरक्षण ऐन २०७५ र नियमावलीहरूको प्रभावकारी कार्यान्वयनका लागि सबै सरोकारवालाहरू गम्भीर हुनुपर्नेमा उनले जोड दिए ।

लामो समयको प्रयासपछि उपभोक्ताहरूको गुनासो सुन्न र पीडितलाई न्याय दिलाउन ‘उपभोक्ता अदालत’ गठनको प्रक्रिया अघि बढेकोमा मन्त्रीले खुसी व्यक्त गरे । आफू विगतमा न्याय क्षेत्रमा रहँदा पनि उपभोक्ता हितका लागि पहल गरेको उल्लेख गर्दै उनले अब गठन हुने अदालतले बजारका बेथिति नियन्त्रण गर्न र व्यवसायीलाई जिम्मेवार बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । मन्त्री सिन्हाले हालको बजार अनुगमन संयन्त्रमा केही कमजोरी रहेको स्वीकार गरे । साथै, सरकारले पेट्रोलियम पदार्थ र खाद्यान्न जस्ता अत्यावश्यक वस्तुहरूको भण्डारण क्षमता कम्तीमा ३ महिनाका लागि पुग्ने गरी विकास गर्न आवश्यक रहेको उनले बताए ।