बेनी हाइड्रोपावरको आइपीओ आजदेखि खुल्यो, क-कसले दिन पाउँछन् आवेदन ?

बेनी हाईड्रोपावर प्रोजेक्टले आज (चैत १गते) देखि पहिलो चरणको आइपीओ निष्कासन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ जारी गरेको हो ।

काठमाण्डौ । बेनी हाईड्रोपावर प्रोजेक्टले आज (चैत १गते) देखि पहिलो चरणको आइपी निष्कासन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ जारी गरेको हो । कम्पनीले गत माघ २९ गते नेपाल धितोपत्र बोर्डबाट आफ्नो जारी पूँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशत अर्थात २० करोड ८० लाख रुपैयाँबराबरको रु. १०० अंकित दरका २० लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको थियो ।

 जारी पूँजीको १० प्रतिशत अर्थात १० करोड ४० लाख रुपैयाँको रु.१०० अंकित दरका १० लाख ४० हजार कित्ता साधारण सेयर मध्ये आयोजनाको अति प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको हाल सोलुदुधकुण्ड नगरपालिका वडा नं २, ३ र ४ का स्थायी बासिन्दाहरुलाई ५ लाख २० हजार कित्ता (५० प्रतिशत) सेयर, आयोजनाको प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको हाल सोलुदुधकुण्ड नगरपालिका वडा नं. ५, ६, ७ र ११ का स्थायी बासिन्दाहरुलाई ३ लाख १२ हजार कित्ता (३० प्रतिशत) सेयर र उक्त आयोजनाको न्यून प्रभावित क्षेत्र अर्थात् आयोजनाको अति प्रभावित र प्रभावित क्षेत्र बाहेकको सोलुखुम्बु जिल्लाका अन्य क्षेत्रहरुका स्थायी बासिन्दाहरुका लागि बाँकी २ लाख ८ हजार कित्ता (२० प्रतिशत) सेयर निष्काशन गरी बिक्री वितरण गरिने छ ।

साथै, आयोजनाको प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको बासिन्दाहरुलाई सेयर बाँडफाँड गरे पश्चात् सर्वसाधारणलाई जारी पूँजीको १० प्रतिशत अर्थात रु.१० करोड ४० लाख रुपैयाँ रकम बराबरको रु.१०० अंकित दरका १० लाख ४० हजार कित्ता सेयर मध्ये १ लाख ४ हजार कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहिरहेका नेपाली नागरिकहरुको लागि बिक्री गर्न प्रारम्भिक निष्काशन गरिएको हो ।  

यदि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरु र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुको लागि निष्काशन गरिएको सेयर सम्पूर्ण रुपमा बिक्री नभई बाँकी रहेमा बाँकी रहेको सेयर समेत सर्वसाधारणमा समायोजन गरी निष्काशन गरिने कम्पनीले जनाएको छ ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले पनि न्यूनतम १० र अधिकतममा १० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।  

आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन बन्द छिटोमा चैत १५ गते र ढिलोमा चैत ३० गते हुनेछ । वैदेशिक रोजगारीमा रहेका लागि भने आईपीओ निष्कासन बन्द छिटोमा चैत ५ गते र ढिलोमा चैत १५ गते हुनेछ । कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाले एनएमबी बैंकको सोलुखुम्बुस्थित सल्लेरी शाखा, लक्ष्मी सनराइज बैंकको सोलुखुम्बुस्थित सल्लेरी शाखा, ग्लोबल आइएमई बैंकको सोलुखुम्बु शाखा र प्राइम कमर्सियल बैंकको सोलुखुम्बुस्थित नेचा सल्यान शाखाबाट आवेदन दिन सक्नेछन् ।