एपोलो हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
एपोलो हाइड्रोपावरले फागुन ११ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेकोआईपीओमा आवेदन दिने आज (चैत १ गते) अन्तिम दिन रहेको छ । कम्पनीले आवेदन दिने मिति चैत १० गतेसम्म लम्ब्याएको भएपनि मागभन्दा बढी आवेदन परेका कारण निष्काशन बन्द गर्न लागेको हो ।
काठमाडौं । एपोलो हाइड्रोपावरले फागुन ११ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेकोआईपीओमा आवेदन दिने आज (चैत १ गते) अन्तिम दिन रहेको छ । कम्पनीले आवेदन दिने मिति चैत १० गतेसम्म लम्ब्याएको भएपनि मागभन्दा बढी आवेदन परेका कारण निष्काशन बन्द गर्न लागेको हो ।
कम्पनीले जारी पूँजी ५७ करोड रुपैयाँको ३० प्रतिशत अर्थात १४ करोड १० लाख रुपैयाँ बराबरको १४ लाख १० हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये ४ करोड ७० लाख रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ दरका ४ लाख ७० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको सेयरमध्ये ५० प्रतिशत अर्थात २ लाख ३५ हजार कित्ता सेयर उच्च प्रभावित क्षेत्र अर्थात ओखलढुङ्गा जिल्ला खिजिदेम्बा गाउँपालिका वडा नं. ७ र ८ का स्थानिय बासिन्दाहरुमा बाँडफाँट गरिनेछ भने ३० प्रतिशत अर्थात १ लाख ४१ हजार कित्ता मध्यम प्रभावित क्षेत्र अर्थात सोलुखुम्बु जिल्ला लिखुपिके गाउँपालिका वडा नं. २ र रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका वडा नं. ३ का बासिन्दाहरुका लागि बाँडफाँट गरिनेछ । त्यस्तै, बाँकी रहेको २० प्रतिशत अर्थात ९४ हजार कित्ता सेयर न्यून प्रभावित क्षेत्र रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका वडा नं. २ र गोकुलगंगा गाउँपालिका वडा नं. १ का स्थानिय बासिन्दाहरुमा बाँडफाँट गरिनेछ ।
सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ । स्थानिय बासिन्दाहरुले अधिकतममा ४७ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल रहेको छ ।