ढुक्क भएर नेपालमा लगानी गर्न एनआरएनएहरूलाई महासंघ अध्यक्ष चन्द्र ढकालको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गैरआवासीय नेपाली (एनआरएन) हरूलाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन् ।

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गैरआवासीय नेपाली (एनआरएन) हरूलाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औँ वार्षिक साधारण सभा (एजीएम) लाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा अहिले राजनीतिक स्थिरता कायम भएको र लगानीको अनुकूल वातावरण बनेको भन्दै जलविद्युत, पर्यटन, सूचना प्रविधि लगायतका क्षेत्रमा लगानी गर्न आह्वान गरेका हुन् । विश्वभर भइरहेका द्वन्द्व र कोभिड–१९ जस्ता महामारीको उदाहरण दिँदै उनले जस्तोसुकै परिस्थितिमा पनि मातृभूमि नै अन्तिम गन्तव्य र प्राथमिकता हुने उनले बताए ।

मुलुकमा अहिले स्थायी सरकार बनेको र यसले निजी क्षेत्र तथा एनआरएनले खोजेको राजनीतिक स्थिरता दिएको ढकालको भनाइ छ ।

महासंघकै पहलमा सरकारले ‘उच्चस्तरीय आर्थिक सुधार आयोग’ गठन गरेको र स्वदेशी तथा विदेशी लगानी (एफडीआई) भित्र्याउन थुप्रै कानूनहरू परिमार्जन भइरहेको उनले जानकारी दिए । बाँकी रहेका नीतिगत झन्झटहरू हटाउन निजी क्षेत्र एनआरएनएसँग मिलेर सरकारसँग लबिइङ गर्न तयार रहेको पनि उनले प्रतिवद्धता जनाए । 

नेपालमा पुँजी छैन र सम्भावना छैन भन्ने नकारात्मक भाष्यलाई चिर्न महासंघ, सीएनआई, चेम्बर र एनआरएन लगायतको सहभागितामा १० अर्ब रुपैयाँको ‘नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडीपी)’ कम्पनी स्थापना गरी काम शुरु भइसकेको उनले बताए ।