थलापति विजयको फिल्मको १२० करोडको ओटीटी सम्झौता रद्द

सेन्सर बोर्डसँगको विवाद र प्रदर्शनमा भइरहेको ढिलाइका कारण अमेजन प्राइम भिडियोले फिल्मसँग गरेको ओटीटी सम्झौता रद्द गरेको बताइएको छ।

काठमाडौँ । दक्षिण भारतीय अभिनेता थलापति विजयको फिल्म ‘जन नायकन’ फेरि समस्यामा परेको छ। सेन्सर बोर्डसँगको विवाद र प्रदर्शनमा भइरहेको ढिलाइका कारण अमेजन प्राइम भिडियोले फिल्मसँग गरेको ओटीटी सम्झौता रद्द गरेको बताइएको छ।

भारतीय सञ्चार माध्यमका अनुसार अमेजन प्राइम भिडियोले फिल्मको डिजिटल अधिकारका लागि करिब १२० करोड भारतीय रुपैयाँको सम्झौता गरेको थियो। दर्शकहरू पछिल्ला दुई महिनादेखि फिल्म प्रदर्शनको प्रतीक्षामा रहेका भए पनि हालसम्म यसको प्रदर्शन मिति तय हुन सकेको छैन ।

फिल्मलाई सेन्सर प्रमाणपत्र कहिले प्राप्त हुन्छ र कहिले हलमा प्रदर्शन हुन्छ भन्ने अझै स्पष्ट भएको छैन। यही अनिश्चितताका कारण ओटीटी पक्षले सम्झौता रद्द गरेको जनाइएको छ । सामान्यतया ओटीटी मञ्चहरूले फिल्मको हल प्रदर्शन मिति तय भएपछि मात्र यस्तो सम्झौता गर्ने गर्छन् ।

फिल्म सुरुमा जनवरी ९ मा प्रदर्शन गर्ने योजना थियो । तर केन्द्रीय चलचित्र प्रमाणन बोर्डले केही दृश्य संवेदनशील भएको भन्दै हटाउन निर्देशन दिएपछि निर्माता पक्ष र सेन्सर बोर्डबीच विवाद बढेको थियो । पछि यो विषय अदालतसम्म पुगेको थियो । विवाद समाधानका लागि निर्माता पक्षले अदालतबाट मुद्दा फिर्ता लिएर पुनरावलोकन समितिमा पुगेका थिए । मार्च ९ मा फिल्मको प्रदर्शन गरेर पुनरावलोकन गर्ने कार्यक्रम तय गरिएको थियो । तर अन्तिम समयमा समितिका एक सदस्य बिरामी परेपछि कार्यक्रम रद्द भयो र पुनरावलोकन प्रक्रिया थप ढिलो भएको छ ।

‘जन नायकन’लाई थलापति विजयको अन्तिम फिल्मका रूपमा पनि हेरिएको छ । उनी तमिलगा वेट्री कजगम नामक राजनीतिक दलका प्रमुख हुन् । उनको दलले आगामी मार्च-अप्रिलमा हुने तमिलनाडु विधानसभा निर्वाचनमा भाग लिने घोषणा गरेको छ ।

विजयले हालै ३३ वर्ष लामो अभिनय यात्रापछि चलचित्र क्षेत्र छोड्ने निर्णय गरेको बताएका थिए ।